जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा चालु खर्चतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ अर्थात् ३५.९४ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ६४.३६ प्रतिशत विनियोजन गरिएको छ ।
अर्थमन्त्री भट्टराईका अनुसार खर्चको स्रोत व्यवस्थापनमा राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ र गत वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ अनुमान गरिएको अर्थमन्त्री भट्टराईको भनाइ छ ।
प्रदेश सरकारले बजेटमा उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ ।
मधेशले चालु आर्थिक वर्ष २०८२/८३ मा ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।








प्रतिक्रिया