काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुनुका साथै सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।
आजको बैठकमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
बैठकमा मुख्यगरी ९ वटा मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुनेछ । जसमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय रहेका छन्। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्नेछन् ।
बजेटमाथिको छलफलसँगै ५ जना सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव संसद्मा पेस गर्नेछन् । सांसद कृपाराम रानाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट शीर्षकको खर्च रकमलाई घटाई ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा सांसद नीता घतानीले सूचना तथा सञ्चार मन्त्रालय र सांसद अर्जुनकुमार कार्कीले शिक्षा तथा खेलकुद मन्त्रालयको खर्च रकम घटाई ‘एक रुपैयाँ’ कायम गर्न प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
यस्तै, सांसद साजिदा खातुन सिद्धिकीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय गरी दुईवटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्नेछिन् । सांसद एशुदाकुमारी बरालले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई ‘एक रुपैयाँ’ कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया