४ असार २०८३, बिहिबार

कांग्रेसको ‘जरामा जाऔँ अभियान’अन्तर्गत उदयपुरमा रक्तदान कार्यक्रम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर । नेपाली कांग्रेसले देशभर सञ्चालन गरिरहेको ‘एक महिने जरामा जाऔँ अभियान’अन्तर्गत उदयपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । पार्टीको संगठन सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको छ ।

कांग्रेस उदयपुर निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय समितिको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममार्फत पार्टीले जनस्तरसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने प्रयास गरेको जनाएको छ । क्षेत्रीय सभापति खगेन्द्र राईका अनुसार अभियान केवल सदस्यता अद्यावधिकमा सीमित नभई समाजप्रति पार्टीको दायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उनले कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, संगठनको समीक्षा, जनतासँग प्रत्यक्ष संवाद, युवासँग अन्तरक्रिया तथा पार्टीबाहिर रहेका शुभेच्छुकहरूसँग सम्बन्ध विस्तार गर्ने कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

“रक्तदान जीवनदान हो भन्ने भावनाका साथ हामीले सामाजिक सेवामार्फत जनतासँग अझ नजिक हुने प्रयास गरेका छौँ,” सभापति राईले भने ।

कार्यक्रम कांग्रेसका केन्द्रीय सदस्य बिदुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य प्रमिला राई तथा जिल्ला सभापति हिमाल कार्कीको विशेष आतिथ्यता रहेको थियो । नेताहरूले सामाजिक सेवामूलक कार्यक्रममार्फत पार्टीलाई जनतासँग जोड्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

रक्तदान कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, युवाहरू तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा ५० जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।

पछिल्लो समय अस्पतालहरूमा रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै आयोजित कार्यक्रमले बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो ।

रेडक्रसकर्मीहरूले रक्तदान सुरक्षित, सरल र मानव जीवन बचाउने महत्वपूर्ण कार्य भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।