७ असार २०८३, आइतबार

निर्दयी वन कर्मचारी, महिलाको टेम्पो भीरबाट खसालेर गरिदिए नष्ट

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । कैलालीमा वनका कर्मचारीले सडक छेउमा राखिएको भन्दै एक महिलाको टेम्पो भीरबाट खसालेर नष्ट गरिएका छन् ।

गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीको टेम्पो वन कर्मचारीले गाईमारेडाँडाबाट फालेका हुन् ।

सडक छेउमा टेम्पोमै व्यापार गर्दै आएकी उनको टेम्पो डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले भीरबाट फालेर नष्ट गरेका हुन् ।

घटनापछि टेम्पोमा क्षति पुगेको र त्यसैसँगै परिवारको आयआर्जनको मुख्य स्रोत समेत बन्द भएको धामीले बताइन् ।

‘सामान झार्नुभयो, गाडी हामी आफै घर लैजान्छौँ भन्यौँ, तर कसैले सुन्नुभएन,’ धामीले गुनासो गर्दै भनिन्, ‘टेम्पो बिग्रिएपछि अहिले परिवारको दैनिकी नै संकटमा परेको छ ।’

वन कार्यालयले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत क्षेत्रमा ४७ वटा संरचना हटाइएको जनाएको छ । तर स्थानीयबासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनको माध्यममाथि क्षति पुर्‍याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

धनादेवीले राज्यका निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।

‘यदि मैले गल्ती गरेकी थिएँ भने कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्थ्यो,’ उनले भनिन्, ‘तर मेरो परिवारको रोजीरोटीको आधार नै किन नष्ट गरियो ?’

डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी जीवछ यादवले पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरिएकाले संरचना हटाउने काम गरिएको बताए ।

‘त्यो चलाउनेभन्दा पनि व्यापार गर्न प्रयोग गरिने अटो थियो, पटक–पटक हामीले हटाउन भनेका थियौँ, तर मान्नुभएन,’ उनले भने ।