धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ निवासी सुरेन्द्रप्रसाद त्रिपाठीले केही समय वैदेशिक रोजगारीमा बिताएपछि स्वदेश फर्केर विगत २५ वर्षदेखि विभिन्न प्रकारका हस्तनिर्मित खेलौना, चराचुरुङ्गीका आकृति तथा घरेलु सजावटका सामग्री निर्माण गर्दै आएका छन् ।
प्राकृतिक रूपमा प्राप्त काठ, जरा, फलका बोक्रा, बिउ तथा अन्य सामग्री प्रयोग गरी त्रिपाठीले आकर्षक कलाकृति तयार गर्दै आएका हुन् ।

फुर्केखोला नजिक रहेको बुलुहेबन होटल परिसरभित्र आफ्ना सिर्जनाहरू प्रदर्शन तथा बिक्रीका लागि राखेका त्रिपाठीका कलाकृतिले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गरेको छ ।
स्थानीय स्रोत र साधनको प्रयोगमार्फत सिर्जना गरिएका यी सामग्रीले वातावरण संरक्षणसँगै स्वरोजगार प्रवर्द्धनमा समेत योगदान पुर्याएको छ । उनका अनुसार सिर्जनात्मक कामप्रतिको रुचि र लगावले नै दुई दशकभन्दा बढी समयदेखि यस क्षेत्रमा निरन्तर सक्रिय रहन प्रेरित गरेको हो ।
हस्तकलाप्रेमी तथा पर्यटकहरूका लागि त्रिपाठीका कलाकृति अहिले फुर्केखोला क्षेत्रको थप आकर्षण बनेका छन् ।








प्रतिक्रिया