९ असार २०८३, मंगलबार

निखिल–रमेश–निरुतासहित ‘पारस’को छायांकन असार १५ देखि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ ।

निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहीबार कलाकारहरुको फेस टेष्ट गरेको छ । बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार लुक्स हेरिएको हो।

एक्सन निर्देशकको छवि बनाएकी कृषाले चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले छायांकनमा जान लागिएको बताइन् । उनका अनुसार चलचित्रको छायांकन असार १५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा गरिनेछ । सोहीको तयारीका साथ कलाकारहरुको लुक्स हेरिएको निर्देशक कृषाले जानकारी दिइन् ।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन् । अन्य कलाकारको छनोट प्रक्रिया भने जारी छ ।

चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन् । छायांकन निर्देशक (डीओपी)को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हालेका छन् भने मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टिममा रहनेछन् ।

केही साताअघि चलचित्रको पहिलो गीत रेकर्ड गरिएको थियो, जसमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन् । उक्त गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ ।

फिल्मको प्रोडक्सन म्यानेजरमा रविन बखेल रहनेछन् भने द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन् । सत्यम राणा र समीर मियाँले भीएफएक्सको काम सम्हाल्नेछन् ।

सरोज बुढाथोकी मेकअप आर्टिस्टका रूपमा रहनेछन् भने कुलदीप शर्मा मुख्य सहायक निर्देशक छन् ।

यस्तै, नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन् । रेनिस फागो कलरिस्ट रहने चलचित्रको पब्लिसिटी तथा पोस्टर डिजाइनको जिम्मेवारी राकेश दाहालले पाएका छन् । कालाचरणले पृष्ठभूमि संगीत (बीजीएम) तयार गर्नेछन् भने गीताको गुरायाले मिक्सिङ गर्नेछिन् ।