काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले यस्तो आग्रह गरेको बैंकले जनाएको छ।
ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप (एनआईसी एसिया मो ब्यांक) मा रहेको ‘प्यान अपडेट’ अप्सनमा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्। साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ईटीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ। उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ।
जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ईटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ।
साथै, बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल पनि अपडेट गर्न आग्रह गरेको छ।









प्रतिक्रिया