२ असार २०८३, मंगलबार

सरकारको अनुचित हस्तक्षेपले नेपाली फुटबल निलम्बनको डिलमा : किरण राई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई फिफा विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको घटनालाई लिएर फेरि नेपाली फुटबलमा सरकारी हस्तक्षेपको चर्चा सुरु भएको छ ।

विमानस्थलबाट फर्काइएपछि एन्फा महासचिव राईले सामाजिक सञ्जालमार्फत सरकारको हस्तक्षेपलाई फुटबलमा ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’को संज्ञा दिएका छन् ।

उनले फिफा र एएफसीले पटक–पटक यस्तो हस्तक्षेप नगर्न निर्देशन दिए पनि एन्फामाथिको दबाब नरोकिएको बताए ।

राईका अनुसार फिफाले विश्वका २११ सदस्य राष्ट्रका अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहसँगै आगामी चार वर्षको बजेट तथा फुटबल विकास कार्यक्रमसम्बन्धी फुटबल समिटमा सहभागी हुन निमन्त्रणा गरेको थियो । उक्त कार्यक्रममा सहभागी हुन नपाउँदा नेपालको फुटबल विकाससँग सम्बन्धित महत्वपूर्ण अवसर गुमेको उनको भनाइ छ ।

‘विदेश जान व्यक्तिगत रुपमा कुनै विशेष मोह छैन तर फिफाले संसारभरिका २११ देशको अध्यक्ष र महासचिवलाई निमन्त्रणा गर्दछ (फिफाको सम्पूर्ण खर्चमा) र विश्वकप फुटबलको उद्घाटन समारोहमा सहभागी गराई केही दिनको आगामी चार वर्षको बजेट र फुटबल विकास कार्यक्रमको बारे फुटबल समिट रहेको हुँदा देशको लागि महत्त्वपूर्ण थियो जुन कुरा हिजो राखेपलाई बुझाउने प्रयास गरियो तर बुझनु भएन ।’ राईले फेसबुकमा लेखेका छन् ।

उनले आफूहरूलाई रोक्न सकिने पूर्वसूचना हुँदाहुँदै पनि फिफाको निमन्त्रणा र जिम्मेवारीका कारण विमानस्थल पुगेको बताए ।

राईले राखेपबाट निलम्बन फुकुवा भएको जानकारी फिफा र एएफसीलाई पठाइएको अवस्थामा यात्रा रोकिँदा अन्तर्राष्ट्रिय फुटबल निकायसमक्ष नेपालकै विश्वसनीयतामाथि प्रश्न उठ्नसक्ने चेतावनी दिए ।

राईले सरकारप्रति व्यक्तिगत गुनासो नरहेको उल्लेख गर्दै फुटबल क्षेत्रका विषयमा सम्बन्धित निकायलाई बुझाउन नसकिएकोमा दुःख व्यक्त गरेका छन् । साथै, उनले एन्फाका पूर्वअध्यक्षहरु गणेश थापा र कर्माछिरिङ शेर्पा पक्षले सरकारलाई भ्रममा पारेर नेपाली फुटबललाई निलम्बनको जोखिमतर्फ धकेलेको आरोप पनि लगाएका छन् ।

‘एन्फाका पूर्वअध्यक्षहरु गणेश थापाज्यू र कर्माछिरिङ शेर्पाज्यू एन्ड कम्पनीलाई पनि बधाई छ, आंशिक सफल हुनुभयो, सरकारलाई भ्रममा पार्दै फुटबललाई निलम्बनको डिलमा पुर्‍याउनु भयो, निलम्बनको चाहाना पनि चाँडै पूरा गर्नुहोस् तपाईंहरुलाई पूर्ण सफलताको शुभकामना ।’ राईले लेखेका छन् ।