३० असार २०८३, मंगलबार

मोदीले तोडे सबैभन्दा लामो समयसम्म भारतको प्रधानमन्त्री रहने नेहरूको रेकर्ड

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्र भारतमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने पण्डित जवाहरलाल नेहरूको रेकर्ड तोडेका छन् । मोदी भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेका हुन् ।

९ जुन २०२४ मा मोदीले एनडीएको तेस्रो कार्यकालमा प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । योसँगै मोदी १२ वर्षदेखि सत्तामा रहेका छन् । मोदीले पहिलोपटक २६ मे २०१४ मा प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए ।

मंगलबार ९ जुन २०२६ सम्म उनले ४ हजार ३९८ दिन पदमा बिताइसकेका छन् । योसँगै उनी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनेका हुन् ।

भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले १३ मे १९५२ मा पहिलोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए ।

नेहरूले लगातार ४ हजार ३९७ दिन अर्थात् १२ वर्ष १४ दिन प्रधानमन्त्रीको रूपमा सेवा गरे । ९ जुनमा मोदीले सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने नेहरूको रेकर्ड तोडे ।

नेहरूले १९४७ देखि मे २७, १९६४ सम्म प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । नेहरूको कुल कार्यकाल ६ हजार १३० दिन थियो । यद्यपि, लगभग पाँच वर्षसम्म उनले अन्तरिम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए ।

२०२४ मा मोदी नेहरूपछि देशका दोस्रो प्रधानमन्त्री बने, जसले आफ्नो नेतृत्वमा गठबन्धन वा पार्टीलाई लगातार तीन लोकसभा चुनाव (२०१४, २०१९ र २०२४)मा विजय हासिल गरेपछि लगातार तेस्रोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिए ।

मोदी भारतको स्वतन्त्रतापछि जन्मेका पहिलो प्रधानमन्त्री हुन् (१७ सेप्टेम्बर, १९५०) । यसअघिका सबै प्रधानमन्त्रीहरू १९४७ भन्दा अगाडि जन्मेका थिए ।

यसअघि २५ जुलाई २०२५ मा प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको लगातार सबैभन्दा लामो ४ हजार ७७ दिनको प्रधानमन्त्री कार्यकालको रेकर्डलाई उछिनेका थिए ।