२९ असार २०८३, सोमबार

एमाले सफलतामा हौसिने र असफलतामा आत्तिने पार्टी होइन : देवी ज्ञावली

रगतसँग साटेर ल्याएको उपलब्धि रक्षाका लागि थप संगठित हुनुपर्छ : राना

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुरगढी । नेकपा (एमाले)का केन्द्रीय सदस्य देवी ज्ञावलीले निर्वाचन परिणामबाट पार्टीलाई लागेको धक्काको धर्यतापूर्वक सामना गर्दै उठ्ने र अगाडि बढ्ने बताएका छन् ।

एमाले मकवानपुरगढी गाउँपालिका कमिटीद्वारा एमाले मकवानपुरका सल्लाहकार परिषद्का तत्कालीन अध्यक्ष तथा पुराना कम्युनिष्ट नेता स्वर्गीय बलराम हुँमागाईको वार्षिक स्मृतिमा मंगलबार आयोजित श्रद्वाञ्जली कार्यक्रमलाई सम्बोधन नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

ज्ञवालीले बालेन सरकारले छोटो समयमा नै राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्विप्रति घात गरेको बताउँदै सफलतामा हौसिने र असफलतामा आत्तिने पार्टी एमाले होइन भन्दै वर्तमान सरकारले बाहिर नबोल्ने भित्र आत्मसमर्पण गरेको बताए ।

सरकारको गलत रवैयाको कारण जनतालाई ‘न्याउरी मारी पछुतो’ भएको टिप्पणी गर्दै ज्ञवालीले भने ‘हाम्रो देश र जनताप्रतिको निष्ठा, त्याग र समर्पणले फेरि उठ्ने छौँ ।’

ज्ञवालीले निरंकुश पञ्चायती व्यवस्थाको कठिन समयमा पार्टी विस्तारमा स्व. बलराम हुँमागाईको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै हुँमागाई काममा विश्वास गर्ने पददेखि टाढा रहने व्यक्तित्व रहेको उल्लेख गरे ।

त्यस्तै, एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टी जीवनलाई व्यवस्थित बनाउँदै श्रमजीवी मजदुर वर्गको हित र लोककल्याणकारी कार्य, सामाजिक र आर्थिक रूपान्तरणलाई पार्टीले प्राथमिकता दिएको बताए । आज मुलुकको अगाडि राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि अतिक्रमण भइरहेकोले जनताको रगतसँग साटेर ल्याएको उपलब्धि रक्षाका लागि जनतालाई थप संगठित गर्नुपर्ने बताए ।

रानाले स्व. बलराम हुँमागाई असल कम्युनिष्ट नेता भएको बताउँदै उनले राजनीति र सामाजिक रूपमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले पार्टी कार्यकर्ताले एकजुट भएर आ–आफ्नो जिम्मेवारी बहन गरेर पार्टी जीवन बलियो बनाउनु पर्ने र स्व. हुँमागाईको आदर्श र योगदानलाई कम्युनिष्ट कार्यकर्ताले अनुशरण गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य निर्मला देवकोटा, जिल्ला सचिव सीता विष्ट, जिल्ला सदस्यहरू विदुर हुँमागाई, मेम्बर लो, खिलप्रसाद चौलागाई, रामजी सापकोटा, जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष चेतनाथ खतिवडा, बलराम हुँमागाई फण्डेसनका अध्यक्ष तथा उनका जेठा छोरा विजय हुँमागाईको लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्व. हुँमागाईका समकालीन मित्रहरू अर्जुन हुँमागाई, रोमप्रसाद न्यौपाने र हरि अधिकारीले स्व. बलराम हुँमागाईको बाल्यकाल, राजनीतिक र सामाजिक पृष्ठभूमि र योगदानबारे विस्तृत चर्चा गरेका थिए ।

कार्यक्रममा बलराम हुँमागाई फाउण्डेसनको तर्फबाट नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा भेटनरी विषय अध्ययनरत गरिब, जेहेन्दार विद्यार्थी गोकर्ण दाहाललाई २० हजार नगद छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

कार्यक्रम एमाले मकवानपुरगढी गाउँपालिका कमिटीका अध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षतामा भएको थियो ।