५ असार २०८३, शुक्रबार

सुधन गुरुङ गृहमन्त्री बन्ने चर्चापछि महेश बस्नेतको टिप्पणी : आफै धामी, आफै झाँक्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधन गुरुङ पुन: गृहमन्त्री बन्ने खबर बाहिरिएपछि नेकपा (एमाले) का सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

सम्पत्तिको स्रोतबारे उठेका प्रश्नमा स्वतन्त्र र निष्पक्ष छानबिनको सट्टा सम्बन्धित पक्षले आफैंलाई सफाइ दिने प्रवृत्ति बढेको आरोप लगाउँदै उनले यस्तो अभ्यासले सुशासन र जनविश्वासमाथि गम्भीर प्रश्न खडा गरेको बताएका हुन्।

बस्नेतले आफूलाई वैकल्पिक शक्ति बताउने राजनीतिक दलहरू नै पारदर्शिता र जवाफदेहिताको सवालमा असफल भइरहेको टिप्पणी गरेका छन्।

उनले जग्गा, सुनदेखि सेयरसम्मको सम्पत्तिको स्रोतबारे वैधानिक प्रश्न उठ्दा स्वतन्त्र छानबिनको सट्टा आफैं समिति गठन गर्ने, आफैंले प्रतिवेदन तयार गर्ने र अन्ततः आफैंलाई चोख्याउने प्रवृत्ति देखिएको बताएका छन् ।

“जग्गा, सुनदेखि सेयरसम्मको सम्पत्तिको स्रोतबारे वैधानिक प्रश्न उठ्छ, आफैं छानबिन समिति बनाइन्छ, आफैंले प्रतिवेदन बुझ्छन् र अन्ततः आफैं चोखिन्छन्। कानुन सबैका लागि बराबर हुनुपर्ने हो, तर यहाँ शक्ति र पहुँचका आधारमा न्यायको परिभाषा बदलिएको छ,” बस्नेतले लेखेका छन्।

उनले यस्तो अभ्यासले जनविश्वास बढाउनुको सट्टा राज्य प्रणाली र सुशासनमाथि थप प्रश्न खडा गर्ने दाबी गरेका छन्।

“आफैं धामी, आफैं झाँक्री बनेर गरिएको यस्तो ‘क्लिन चिट’ ले जनविश्वास बढाउँदैन, बरु राज्य प्रणाली र सुशासनमाथि थप प्रश्न खडा गर्छ। यो लोकतन्त्रका लागि गर्वको होइन, लज्जाको विषय हो,” उनले उल्लेख गरेका छन्।

सुधन गुरुङ गृहमन्त्री बन्ने विषयमा औपचारिक निर्णय सार्वजनिक नभए पनि उनको नाम सम्भावित पुनस् गृहमन्त्रीका रूपमा चर्चामा आएपछि विभिन्न टिप्पणीहरू सार्वजनिक भइरहेका छन्।