२६ जेष्ठ २०८३, मंगलबार

गौमुखी-७ नारीकोटमा निःशुल्क स्वास्थ्य शिविर, ४४० जनाले लिए सेवा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका वडा नं. ७ नारीकोटमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ४० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्। वडा कार्यालयको आयोजनामा विगतका वर्षहरूझैँ यस वर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा पुरुषहरूको तुलनामा महिलाहरूको सहभागिता उल्लेखनीय रहेको थियो। गौमुखी गाउँपालिका वडा नं. ७ को सहयोग तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा।लि।, बुटवल र निमतारा पोलिक्लिनिक, विजुवार प्यूठानको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।

शिविरमा आठ जना विशेषज्ञ चिकित्सकसहित २२ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए। हाडजोर्नी तथा ट्रमा रोग विशेषज्ञ डा. सोम आले, स्तन तथा क्यान्सर रोग विशेषज्ञ डा. सञ्जन पाण्डे, महिला तथा प्रसूति रोग विशेषज्ञ डा. रेश्मी बैदवार, फिजिसियन डा. द्वारिका प्रधान, डा. सुभास जिसी, डा. अर्जुन सुवेदी तथा डा. मनिष पराजुलीलगायतका चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।

लुम्बिनी सिटी अस्पतालका जनसम्पर्क अधिकृत एवं सञ्चालक राधा विष्टका अनुसार अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष विभिन्न जिल्लाका समुदायस्तरमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिहरू पनि निःशुल्क रूपमा वितरण गरिएको उनले जानकारी दिइन्।

स्थानीय नागरिकहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरबाट विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दाहरू लाभान्वित भएका छन्।