काठमाडौं । नेपालले ओमानलाई आठ विकेटले पराजित गर्दै एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। सिंगापुरस्थित सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले एकतर्फी प्रदर्शन गर्दै सहज जित निकालेको हो।
ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै दुई विकेट गुमाएर भेट्टायो। नेपालको जितमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै अविजित ४४ रन बनाए। २६ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे।
कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले २० रनको योगदान दिए। दोस्रो विकेटपछि लोकेश र रोहितले अविजित ६८ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
ओमानका लागि समीर ओटमनले नेपालका दुवै विकेट हात पारे। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको दबाबमा टिक्न सकेन। १९.४ ओभरमा सबै विकेट गुमाएको ओमानले ९४ रन मात्र जोड्न सफल भयो।
ओमानका कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
नेपालका लागि करण केसी सर्वाधिक सफल बलर बने। उनले तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए भने शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट आफ्नो नाममा लेखाए।
यो जितसँगै नेपाल उपाधि नजिक पुगेको छ। अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।








प्रतिक्रिया