३१ जेष्ठ २०८३, आइतबार

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल नियम बोर्डले खेलको गति बढाउने र समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यसहित नयाँ नियमहरू लागू गरेको छ ।

फिफाका अनुसार पछिल्ला अन्तर्राष्ट्रिय खेलहरूमा देखिएको ढिलाइ, नाटकीय रूपमा समय बर्बाद गर्ने रणनीति र खेलको गति घटाउने प्रवृत्तिलाई रोक्न यी नियमहरू ल्याइएको हो । यी परिवर्तनहरू विश्वकप २०२६ देखि नै लागू हुनेछन् ।

खेलमा अब सबैभन्दा चर्चित परिवर्तनमध्ये एक ५ सेकेन्डको नियम हो, जसअनुसार थ्रो–इन र गोल–किक गर्दा खेलाडीले अनावश्यक ढिलाइ गरेमा रेफ्रीले स्पष्ट रूपमा ५ सेकेन्डको काउन्टडाउन गर्नेछन् । निर्धारित समयभित्र पुनः खेल सुरु नगरेमा थ्रो–इन भए विपक्षी टोलीलाई बल दिइनेछ भने गोल–किकमा ढिलाइ भए विपक्षीलाई कर्नर किक प्रदान गरिनेछ । यसले खेलको गति तीव्र बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, प्रतिस्थापन प्रक्रियालाई पनि कडाइ गरिएको छ । अब मैदान छोड्ने खेलाडीले १० सेकेन्डभित्र मैदान बाहिर निस्कनुपर्नेछ । यदि ढिलाइ गरेमा नयाँ खेलाडी तुरुन्त मैदान प्रवेश गर्न पाउने छैन र सम्बन्धित टोलीले करिब १ मिनेटसम्म १० खेलाडीमा खेल्नुपर्ने अवस्था आउनेछ । यसलाई समय बर्बादी रोक्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

चोटपटक वा उपचारका क्रममा हुने ढिलाइलाई पनि नियन्त्रण गर्न नयाँ व्यवस्था गरिएको छ । मेडिकल स्टाफलाई बोलाएर मैदानमा उपचार गरिएका खेलाडीले खेल पुनः सुरु भएपछि कम्तीमा ६० सेकेन्डसम्म मैदान बाहिर बस्नुपर्नेछ । यस नियमको उद्देश्य नाटकीय चोट देखाएर खेल रोकिने प्रवृत्ति कम गर्नु हो ।

अनुशासनका विषयमा पनि फिफाले कडा कदम चालेको छ । अब खेलाडीहरूले विवादका क्रममा हात वा जर्सीले मुख छोपेर रेफ्रीसँग बहस गरेमा सिधै रातो कार्ड देखाइनेछ ।

त्यस्तै, रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मैदान छाड्ने वा अन्यलाई उक्साउने खेलाडी तथा अधिकारीहरूलाई पनि कडा कारबाही हुने व्यवस्था गरिएको छ ।

भिडियो असिस्टेन्ट रेफ्रीको अधिकार पनि विस्तार गरिएको छ । अब भिएआरले गलत तरिकाले दिइएका कर्नर किक, दोस्रो पहेँलो कार्डसम्बन्धी निर्णय तथा केही स्पष्ट त्रुटिहरूको समीक्षा गर्न सक्नेछ । यसले खेलमा निर्णय प्रक्रियालाई अझ पारदर्शी र निष्पक्ष बनाउने अपेक्षा गरिएको छ ।