–गणेश थापा
क्यालिफोर्निया । फुटबल खेलको सवैभन्दा ठूलो स्पर्धा ‘फिफा विश्वकप’को २३ औं संस्करण आगामी साताबाट अमेरिका, क्यानडा र मेक्सिकोमा एकसाथ सुरू हुदैछ । उक्त प्रतियोगितामा सहभागी हुन संसारभरबाट छनोट भएका टिमहरू आउनेक्रम बिहीबारबाट जारी छ ।
उत्तर अमेरिकी महादेशको सबैभन्दा ठूलो सहर मेक्सिकोको राजधानी ‘मेक्सिको सिटी’मा जुन ११ बिहीबार स्थानीय समयअनुसार अपराह्न १२ बजे प्रतियोगिताको भव्य रूपमा उद्घाटन समारोह हुने फिफाले जनाएको छ । उद्घाटन खेल आयोजक मेक्सिको र साउथ अफ्रिकाबीच हुनेछ ।
विश्वकप फुटबलको ९६ वर्ष लामो इतिहासमा यसपटक ४८ वटा देशहरूले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा प्रयोग हुने बलमा सेन्सरयुक्त एआई प्रविधि जडान गरिएको कारण खेल सञ्चालन र विवाद निरूपणमा यस किसिमको नौलो प्रयोग कोसेढुंगा सावित हुनसक्ने फिफाको विश्वास छ ।
लिगकम नकआउटको आधारमा हुने यस पटकको विश्वकप फुटबल संसारभरबाट करिब ६ अर्ब मानिसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अवलोकन गर्ने फिफाको अनुमान रहेको छ ।
संयुक्त राज्य अमेरिकाका ११ सहरसहित मेक्सिकोका ३ र क्यानडाको २ वटा गरी कूल १६ सहरका उच्च क्वालिटी र प्रविधियुक्त रंगशालाहरूमा स्थानीय समय अनुसार सम्पूर्ण खेलहरू अपराह्न मै हुने फिफाका अधिकारीहरू बताउँछन् ।
विश्वकप २०२६ को फाइनल भिडन्त तथा समापन जुलाई १९ मा अमेरिकाको न्यूजर्सीमा हुनेछ ।
यसैबीच, २०२२ को कतार विश्वकपको च्याम्पियन अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिम लियोनल मेसीको नेतृत्वमा आज अमेरिकाको मिजौरी आइपुगेको छ भने यता एसियाको हस्ती साउदी अरबियाको टोली टेक्सस झरेको छ ।
यसैगरी, स्विट्जरल्याण्डको राष्ट्रिय टिम आजै क्यालिफोर्निया आइपुगेको छ ।
सर्वाधिक पाँच पटकको विश्व विजेता ब्राजिलको सशक्त प्रतिस्पर्धी ४ पटकको विश्वकप विजेता युरोपियन हस्ती इटाली मात्रै होइन अफ्रिकन शेर नाइजेरियन टिमलाई समेत यसपाली देख्न पाइने छैन ।
विश्वयुद्धका कारण सन् १९४२ र ४६ मा आयोजना हुन नसकेको विश्वकपको इतिहासमा अहिलेसम्म ८० वटा देशले भाग लिएता पनि लगातार प्रतियोगिता खेल्ने ब्राजिल संसारकै एक्लो टिम हो ।








प्रतिक्रिया