काठमाडौं । कक्रोज जनता पार्टी (सीजेपी)ले आज भारतको राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्दैछ ।
पार्टीका संस्थापक अभिजीत दीपकले आफ्ना समर्थकहरूलाई शान्तिपूर्ण, अहिंसात्मक विरोध प्रदर्शनका साथ ठूलो क्रान्तिमा परिणत गर्न अपील गरेका हुन् ।
अभिजीतका अनुसार शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै विरोध प्रदर्शन गर्न लागिएको हो । नीट पेपर लीक र सीबीएसई परीक्षाको नतिजाको विषयलाई लिएर युवाहरु आक्रोशित छन् ।
दीपकले देशको सिस्टमले १ करोडभन्दा बढी विद्यार्थीहरूलाई असफल बनाएको छ र उनीहरूलाई आफ्नो भविष्यको बारेमा चिन्तित बनाएको आरोप लगाएका छन् ।
उनले आजको दिन सम्पूर्ण देश र विश्वको नजर आफ्नो पार्टीतर्फ रहेको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आज बिहान ९ बजे शान्तिपूर्वक दिल्लीको जन्तर मन्तर नजिकैको संसद स्ट्रिट प्रहरी चौकी पुग्न भनेका छन् । साथै, उनले प्रत्यक समर्थकलाई राष्ट्रिय झण्डा र एउटा किताब ल्याउन आग्रह गरेका छन् । उनले प्रदर्शनलाई जिम्मेवारीपूर्वक र शान्तिपूर्ण रूपमा गर्न र कुनै पनि अस्वभाविक व्यवहार देखिएमा तुरुन्तै प्रहरीलाई खबर गर्न पनि भनेका छन् ।
दीपकले प्रदर्शनमा सहभागी हुन आउने क्रममा मौसम अनुसार प्रशस्त पानी पिउन, र आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल राख्न पनि भनेका छन् । साथै, सनस्क्रिन र टोपी लगाउन पनि भनेका छन् ।
कक्रोज जनता पार्टीले विरोध प्रदर्शन सबै राजनीतिक विचारधाराका मानिसहरूका लागि खुला रहेको बताएको छ । देशभरका विद्यार्थी, अभिभावक र युवाहरूलाई यसमा सामेल हुन आह्वान गरिएको छ ।








प्रतिक्रिया