९ असार २०८३, मंगलबार

‘प्रिन्सेस अफ अस्तुरियास स्पोट्र्स अवार्ड’ जित्ने पहिलो फुटबलर बने मेस्सी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्जेन्टिनाका विश्वविख्यात फुटबलर लियोनेल मेस्सीलाई सन् २०२६ को प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्तुरियास स्पोट्र्स अवार्ड’ प्रदान गरिएको छ । यससँगै उनी उक्त सम्मान प्राप्त गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् ।

यो पुरस्कार कला, साहित्य, सामाजिक विज्ञान, वैज्ञानिक तथा प्राविधिक अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र खेलकुद लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ ।

फाउन्डेसनकी अध्यक्ष टेरेसा पार्लेस सम्मिलित निर्णायक मण्डलले मेस्सीलाई यस वर्षको खेलकुदतर्फको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार घोषणा भएपछि मेस्सीले यो सम्मान प्राप्त गर्नु आफ्नो लागि गर्वको विषय भएको बताए । उनले मैदानभित्र मात्र नभई मैदानबाहिरका योगदानको पनि कदर भएको भन्दै खुसी र आभार व्यक्त गरे ।

मेस्सीले आफ्नो करियरमा अनेक ऐतिहासिक सफलता हासिल गरेका छन् । उनले अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वक जिताएका थिए । साथै, सन् २०२१ र २०२४ मा कोपा अमेरिका उपाधि जित्नुका साथै बेइजिङ ओलम्पिकमा स्वर्ण पदक पनि हासिल गरेका छन् ।

क्लब फुटबलमा उनले फुटबल क्लब बार्सीलोनाबाट १० पटक ला लिगा तथा चार पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

हाल इन्टरमियामी क्लबबाट खेलिरहेका मेस्सीले २०२३ को लिग्स कप, २०२४ को सपोर्टर्स सिल्ड तथा २०२५ को एमएलएस कप जितेका छन् । व्यक्तिगत रूपमा उनले आठ पटक बालोन डी’ओर, दुई पटक एमएलएस एमभीपी तथा नौ पटक ला लिगा एमभीपी अवार्ड जितिसकेका छन् । एएनआई