काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गतवर्षको निर्वाचनमा धक्कालाई क्षतिपूर्ति हुनेगरी जनतासँग सम्बन्ध विस्तार गर्ने बताएका छन् ।
पार्टीले आजबाट सुरु गरेको सदस्यता नवीकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि अब जनतातिर फर्किने बताए ।
‘गतवर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का व्यहोरेको छौँ’ पौडेलले भने ‘यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर फर्किएका हुनेछन् ।’
उपाध्यक्ष पौडेलले जनतासँग टुटेको सम्बन्धलाई पुन जोड्नु पार्टीको मुख्य कार्यभार रहेको बताए ।

उपाध्यक्ष पौडेलले संगठनात्मक जीवनमा भोगेका चुनौतीलाई सामूहिक रुपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए । उनले पार्टी सदस्यता प्राप्ति तथा नवीकरण केवल एउटा सदस्यता मात्र होइन त्यो एउटा राजनीति, विचार र जिम्मेवारीको प्राप्तिको रुपमा पनि बुझ्नुपर्ने बताए ।
सन् १९२० मा स्थापना भएको छिमेकी भारतीय कम्युनिष्ट पार्टी र चीनमा सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टीका कार्यशैलीले एउटा कम्युनिष्ट पार्टी अत्यन्तै कमजोर भएको र अर्को कम्युनिष्ट पार्टी विश्वकै शक्तिशाली हुँदै गएको उनले बताए ।
‘भारतको कम्युनिष्ट पार्टी इतिहासमै कमजोर भयो तर चीनको कम्युनिष्ट पार्टी शताब्दीमा शक्तिशाली छ’ पौडेलले भने ‘नेपालले छिमेकका यी दुई ठूला देशका कम्युनिष्ट पार्टीका कार्यशैलीबाट आफू कस्तो अवस्थामा पुग्ने भन्ने पनि शिक्षा लिनु पर्दछ । ’










प्रतिक्रिया