काठमाडौं । तीन महिनाअघि अमेरिकी–इजरायली आक्रमणमा मारिएका इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि गरिने भएको छ ।
सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेर देशभरका धेरै प्रमुख शहरहरूमा अन्त्येष्टि जुलुस निकाल्ने तयारी थालेको छ । साथै, तेहरानमा हुने मुख्य कार्यक्रम २४ घण्टा चल्नेछ, जसमा २ करोड जनताको उपस्थिति हुने अपेक्षा गरिएको छ ।
इरानको सरकारी प्रसारक आईआरआईबीका अनुसार, तेहरानका सांस्कृतिक तथा सामाजिक मामिलाका उपमेयर मोहम्मद अमीन तवाकोली–जादेहले खामेनीको विदाई समारोह र अन्त्येष्टिको तयारी अन्तिम चरणमा रहेको बताए ।
उनले अन्त्येष्टिको निश्चित मिति तोकेनन्, तर यो इस्लामिक क्यालेन्डरको पहिलो महिना मुहर्रमको सुरुमा हुनसक्ने बताए । यो जुनको मध्यमा पर्छ ।
जादेहका अनुसार तेहरानमा अन्त्येष्टि जुलुस कम्तिमा २४ घण्टासम्म चल्नेछ । त्यसपछि खामेनीको शवलाई पवित्र शहर कोम र त्यसपछि मशहद लगिनेछ ।
अधिकारीहरूका अनुसार, खामेनीको मशहदमा रहेको इमाम रेजा (अस)को पवित्र दरबारमा अन्त्येष्टि गरिनेछ । अधिकारीका अनुसार शव यात्रामा विशेष गरी पाकिस्तान, अफगानिस्तान, भारत, बंगलादेश र कश्मीर क्षेत्रबाट ठूलो संख्यामा विदेशी तीर्थयात्रीहरू आउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया