काठमाडौं । अभिनेत्री मलिका महत अनुबन्ध भएसँगै चलचित्र ‘आ बाट आमा २’को छायांकन सुरु भएको छ ।
निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट चलचित्रको छायांकन सुरु गरेको हो । यस चलचित्रका लागि निर्माण टिमले आइतबार मात्रै मलिकालाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरेको थियो ।
चलचित्रको छायांकन चित्लाङ, काठमाडौं र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताए । उनका अनुसार चित्लाङ र काठमाडौंको तालिका सकिएपछि बाँकी दृश्य खिच्न टिम लन्डन प्रस्थान गर्नेछ ।
एक महिनाको कार्यतालिका (सेड्युल) राखेर चलचित्रको छायांकन थालिएको निर्देशक पन्तको भनाइ छ ।
चलचित्रमा पल शाह र मलिका महतका साथै रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायतको मुख्य भूमिका रहनेछ ।
यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् ।
आगामी दशैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।
आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मुख्य व्यवस्थापक (प्रोडक्सन म्यानेजर) करनसिंह रसाली हुन् । यो चलचित्र गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ को सिक्वेल (श्रृङ्खला) हो ।








प्रतिक्रिया