–विपिन थापा
नेपालमा किशोर अपराधको विषयलाई प्रायः कानुनी दृष्टिकोणबाट मात्र हेरिन्छ । जब कुनै किशोर चोरी, झै–झगडा, लागूऔषध ओसारपसार, समूहगत हिंसा वा अन्य गैरकानुनी गतिविधिमा संलग्न हुन्छ, समाजले तुरुन्तै उसलाई ‘अपराधी’को रूपमा चिन्हित गर्छ । तर मनोवैज्ञानिक तथा मनोसामाजिक दृष्टिले हेर्दा अधिकांश किशोर अपराधहरू अचानक उत्पन्न हुँदैनन् । ती अपराधहरूका पछाडि दीर्घकालीन पीडा, हिंसा, उपेक्षा, लत, मानसिक तनाव, गलत संगत, सामाजिक असुरक्षा र अवसरको अभावजस्ता कारकहरू लुकेका हुन्छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार किशोरावस्था जीवनको अत्यन्त संवेदनशील चरण हो, जहाँ मस्तिष्कको निर्णय क्षमता, आवेग नियन्त्रण र भावनात्मक व्यवस्थापन प्रणाली पूर्ण रूपमा विकसित भइसकेको हुँदैन । यही समयमा हिंसा, नशा, मानसिक तनाव र सामाजिक दबाबको प्रभावले किशोरहरूलाई जोखिमपूर्ण व्यवहारतर्फ धकेल्न सक्छ । डब्लूएचओले हिंसा, पदार्थ प्रयोग र मानसिक स्वास्थ्य समस्याबीचको सम्बन्धलाई किशोर स्वास्थ्यका प्रमुख चुनौतीहरूमध्ये एक मानेको छ ।
संयुक्त राष्ट्रसंघीय निकाय (यूएनओडीसी)को विश्व नशा प्रतिवेदन २०२४ अनुसार विश्वभर करिब २९ करोड मानिसले कुनै न कुनै नशालु पदार्थ प्रयोग गरिरहेका छन् । किशोर तथा युवाहरूमा पदार्थ प्रयोगको दर धेरै देशहरूमा बढ्दो छ ।
संयुक्त राष्ट्रसंघीय निकाय (यूएनओडीसी)को विश्व नशा प्रतिवेदन २०२४ अनुसार विश्वभर करिब २९ करोड मानिसले कुनै न कुनै नशालु पदार्थ प्रयोग गरिरहेका छन् । किशोर तथा युवाहरूमा पदार्थ प्रयोगको दर धेरै देशहरूमा बढ्दो छ । प्रतिवेदनले स्पष्ट रूपमा देखाएको छ कि प्रारम्भिक उमेरमा सुरु भएको पदार्थ प्रयोगले विद्यालय त्याग, हिंसात्मक व्यवहार, आपराधिक गतिविधि तथा सामाजिक बहिष्करणको जोखिम उल्लेखनीय रूपमा बढाउँछ ।
मेरो व्यावसायिक अनुभवमा किशोर सुधार गृह, पुनर्स्थापना केन्द्र, समुदायस्तरीय कार्यक्रम तथा संस्थागत हेरचाहमा रहेका किशोरहरूसँग काम गर्दा अपराधमा संलग्न धेरै किशोरहरूमा एउटा समानता देखिन्छ उनीहरूको जीवनमा कुनै न कुनै प्रकारको लत, हिंसा वा आघातको इतिहास रहेको हुन्छ। धेरै किशोरहरूले बाल्यकालदेखि नै घरेलु हिंसा, अभिभावकीय विवाद, विद्यालयबाट बहिष्करण, साथीहरूको दबाब, सामाजिक अस्वीकृति, भावनात्मक उपेक्षा वा गरिबीको अनुभव गरेका हुन्छन् । यस्ता अनुभवहरूले उनीहरूको निर्णय क्षमता, आत्मनियन्त्रण र भावनात्मक व्यवस्थापन क्षमतामा प्रत्यक्ष असर पार्छ ।
विशेषगरी नशालु पदार्थको प्रयोग किशोर अपराधसँग सबैभन्दा बलियो रूपमा सम्बन्धित जोखिम कारकमध्ये एक मानिन्छ । नशाले मस्तिष्कको निर्णय गर्ने भाग (प्रिफ्रन्टल कोर्टेक्स)को कार्यक्षमता कमजोर बनाउँछ । परिणामस्वरूप किशोरहरूमा आवेग नियन्त्रण घट्ने, जोखिमपूर्ण व्यवहार बढ्ने, रिस व्यवस्थापनमा कठिनाइ हुने तथा परिणामको बारेमा सोच्न नसक्ने अवस्था सिर्जना हुन्छ । यही कारण धेरै किशोरहरूले चोरी, झैझगडा, आक्रमण, समूहगत हिंसा तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न हुनु अघि कुनै न कुनै प्रकारको पदार्थ सेवन गरेको अनुभव सुनाउने गरेका छन् ।
नेपाल प्रहरी नारकोटिक्स नियन्त्रण ब्युरोका अनुसार आर्थिक वर्ष २०२४/२५ को मध्य मेसम्म देशभरका २९,०१२ कैदीमध्ये ६,१२६ जना लागूऔषध सम्बन्धी मुद्दामा जेलमा रहेका छन्, जुन कुल कैदी संख्याको २१.११ प्रतिशत हो । लागूऔषधसम्बन्धी अपराधमा संलग्न अधिकांश व्यक्ति १६ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । यो तथ्याङ्कले पदार्थ प्रयोग र अपराधबीचको सम्बन्धलाई स्पष्ट रूपमा देखाउँछ ।
लतले केवल व्यक्तिको व्यवहार मात्र परिवर्तन गर्दैन, यसले अपराधलाई आर्थिक रूपमा पनि प्रेरित गर्न सक्छ । केही किशोरहरू नशाका लागि पैसा जुटाउन चोरी, लुटपाट, ठगी वा लागूऔषध ओसारपसारमा संलग्न हुने गरेको पाइन्छ ।
लतले केवल व्यक्तिको व्यवहार मात्र परिवर्तन गर्दैन, यसले अपराधलाई आर्थिक रूपमा पनि प्रेरित गर्न सक्छ । केही किशोरहरू नशाका लागि पैसा जुटाउन चोरी, लुटपाट, ठगी वा लागूऔषध ओसारपसारमा संलग्न हुने गरेको पाइन्छ । प्रारम्भमा प्रयोगकर्ताको रूपमा शुरू भएको यात्रा पछि विक्रेता वा अपराधी समूहको सदस्यतासम्म पुग्न सक्छ ।
लैङ्गिक हिंसा (जीबीभी) र प्रविधिमार्फत हुने लैङ्गिक हिंसा (टीएफजीबीभी)ले पनि किशोर अपराधसँग गहिरो सम्बन्ध राख्छ । डब्लूएचओ तथा यूएनआईसीईएफका अध्ययनहरूले बाल्यकालमा हिंसा, यौन शोषण, दुर्व्यवहार वा निरन्तर अपमानको अनुभव गरेका किशोरहरूमा मानसिक स्वास्थ्य समस्या, आत्मघाती सोच, आक्रामक व्यवहार तथा अपराधमा संलग्न हुने जोखिम बढी रहेको देखाएका छन् ।
विशेषगरी टीएफजीबीभी अर्थात् साइबर बुलिङ, सेक्सटोर्शन, अनलाइन ब्ल्याकमेल, व्यक्तिगत तस्वीरको दुरुपयोग, नक्कली प्रोफाइल निर्माण तथा डिजिटल अपमानले किशोरहरूलाई गम्भीर मानसिक संकटमा पुर्याउन सक्छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पछिल्ला वर्षहरूमा साइबर अपराधका उजुरीहरू उल्लेखनीय रूपमा बढेका छन् । धेरै पीडितहरू किशोरी, युवा महिला तथा बालबालिका रहेका छन् । डिजिटल हिंसाले सामाजिक अपमान, आत्मविश्वासमा कमी, विद्यालय त्याग, घरबाट भाग्ने अवस्था तथा जोखिमपूर्ण व्यवहारलाई बढावा दिन सक्छ ।
मेरो अनुभवमा अपराधमा संलग्न धेरै किशोरहरूले परामर्श सत्रहरूमा एउटै प्रकारका कथाहरू सुनाउने गरेका छन् । उनीहरूले अपराधबाट आफ्नो यात्रा सुरु गरेका होइनन्, उनीहरूको यात्रा पीडाबाट सुरु भएको थियो । एक १७ वर्षीय किशोरले भनेका थिए– “पहिला साथीहरूसँग गाँजा प्रयोग गर्न थालेँ । पछि नशाबिना बस्न सकिनँ । पैसा सकिएपछि चोरी गर्न थालेँ ।” अन्ततः उनी चोरीको अभियोगमा पक्राउ परे ।
अर्का १६ वर्षीय किशोरले बाल्यकालदेखि नै घरमा हिंसा देख्दै हुर्किएका थिए । उनले परामर्शका क्रममा भने– “घरमा सधैं झगडा हुन्थ्यो । रिस आयो भने कुट्ने कुरा सामान्य हो भन्ने नै सिकेँ ।”
अर्का १६ वर्षीय किशोरले बाल्यकालदेखि नै घरमा हिंसा देख्दै हुर्किएका थिए । उनले परामर्शका क्रममा भने– “घरमा सधैं झगडा हुन्थ्यो । रिस आयो भने कुट्ने कुरा सामान्य हो भन्ने नै सिकेँ ।” पछि उनी समूहगत झगडा र हिंसात्मक घटनामा संलग्न भए ।
त्यस्तै, एक किशोरीले अनलाइन सम्बन्धमार्फत ब्ल्याकमेलको सामना गरिन् । निजी तस्वीर सार्वजनिक गर्ने धम्कीपछि उनी घरबाट भागिन् र गलत समूहको सम्पर्कमा पुगिन् । उनले भनेकी थिइन्– “म अपराध गर्न चाहन्थिनँ, म केवल त्यो अवस्थाबाट भाग्न चाहन्थेँ ।”
यी कथाहरू कुनै अपवाद होइनन् । किशोर सुधार गृह, पुनर्स्थापना केन्द्र तथा समुदायस्तरीय कार्यक्रमहरूमा बारम्बार यस्तै कथाहरू सुनिन्छन् । अपराधभन्दा पहिले पीडा थियो । हिंसा थियो । असुरक्षा थियो । लत थियो । र धेरै अवस्थामा सहयोगको अभाव थियो । यसैले किशोर अपराधलाई केवल कानुनी समस्या भनेर बुझ्नु पर्याप्त छैन । यो मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, विद्यालयीय वातावरण, सामाजिक संरक्षण तथा सार्वजनिक स्वास्थ्यसँग जोडिएको बहुआयामिक समस्या हो । अपराधमा संलग्न किशोरहरूलाई केवल सजायको दृष्टिकोणबाट हेर्नुभन्दा उनीहरूलाई त्यहाँसम्म पुर्याउने कारणहरू पहिचान गर्नु आवश्यक छ ।
धेरै अवस्थामा अपराध समस्या होइन, समस्या त अपराधको पछाडि रहेको पीडा, लत, हिंसा र उपेक्षा हो ।
धेरै अवस्थामा अपराध समस्या होइन, समस्या त अपराधको पछाडि रहेको पीडा, लत, हिंसा र उपेक्षा हो । यदि हामी वास्तवमै किशोर अपराध रोक्न चाहन्छौँ भने विद्यालयस्तरमा जीवन सीप शिक्षा, मानसिक स्वास्थ्य सेवा, नशा रोकथाम कार्यक्रम, अभिभावक शिक्षा, सुरक्षित डिजिटल व्यवहार, मनोसामाजिक परामर्श, परिवार सुदृढीकरण तथा समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्छ । किशोरलाई अपराधीको रूपमा मात्र होइन, जोखिममा परेको विकासशील व्यक्तिको रूपमा बुझ्न सके मात्र दीर्घकालीन समाधान सम्भव हुनेछ ।
आज जेलमा रहेका धेरै किशोरहरूको कथा सुन्दा एउटा प्रश्न उठ्छ– उनीहरूले के अपराध गरे भन्ने मात्र होइन, उनीहरूलाई त्यो अवस्थामा पुग्न कसले, के कारणले र कस्तो परिस्थितिले धकेल्यो ? त्यस प्रश्नको उत्तर खोज्न सके मात्र हामीले वास्तविक रोकथाम र पुनर्स्थापनाको बाटो भेट्न सक्छौँ ।
(लेखक थापा मनोविद् तथा लत उपचार विशेषज्ञ हुन् ।)











प्रतिक्रिया