काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन साहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री साहको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ भएको भन्दै उनले लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् नेपाली जनताको ठूलो बलिदान, संघर्ष तथा सहिदहरूको योगदानबाट स्थापित भएको बताए ।
‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको भएको थियो । सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठूलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो । देशका लागि हाम्रो पुर्खाले धेरै रगत बगाएका छन्,’ उनले भने ।
प्रधानमन्त्रीले संसद्बाट ‘छिमेकी मुलुकको भूमि मिचिएको’ भन्ने अभिव्यक्ति हचुवाका भरमा दिएको उनले बताए । उनले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने माग गरे ।
उनले भने, ‘तर प्रधानमन्त्रीले हचुवाको भरमा सदनबाट भरको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो । यो गैरजिम्मेवारी, राष्ट्रघाती अभिव्यक्ति सरह सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्दै सदनको ध्यानाकर्षण गराउन चाहन्छु । ’ उनले नेपालले कसैको भूमि नमिचेको दाबी गर्दै नेपालको एक इन्च भूमि पनि कसैलाई नदिने पनि स्पष्ट पारे ।









प्रतिक्रिया