काठमाडौं । भारतसँगको सीमा समस्याबारे प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो विवादित अभिव्यक्तिपछि नवलपरासीको सुस्तामा सीमा क्षेत्रमा तनाव बढेको छ ।
स्थानीयका अनुसार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको हो ।

सुस्ता गाउँपालिका–५ मा निर्माण भइरहेको तटबन्धस्थलमा आइतबार साँझ भारतीय एसएसबीको टोली पुगेको र निर्माण कार्य रोक्न दबाब दिएको बताइएको छ । स्थानीयका अनुसार ४० देखि ५० जना भारतीय सुरक्षाकर्मी निर्माणस्थलमा पुगेर काम अघि नबढाउन चेतावनी दिएका थिए ।
घटनाबारे पुष्टि गर्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले एसएसबीको दबाबपछि निर्माण कार्य प्रभावित भएको बताए । उनले स्थानीयबाट भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरी काम रोक्न चेतावनी दिएको जानकारी प्राप्त भएको बताए । उनले उक्त घटना प्रधानमन्त्री साहको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारणले हुनसक्ने बताए ।
कटान र डुबानको उच्च जोखिममा रहेको सुस्ता क्षेत्रलाई संरक्षण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँ लागतमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ । आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा भएको यो घटनाले परियोजनाको भविष्यबारे अन्योल सिर्जना गरेको छ ।
अध्यक्ष उपाध्यायका अनुसार भारतीय पक्षले यसअघि पनि सुस्ताको केही भू–भागमाथि दाबी गर्दै आएको थियो ।








प्रतिक्रिया