२० असार २०८३, शनिबार

नेपालले भारतीय भूमि मिचेको छैन : सीमाविद् श्रेष्ठ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालले भारतको भूमि अतिक्रमण नगरेको तथा सीमा नमिचेको बताएका छन्। उनका अनुसार नेपाल–भारत सीमाका केही स्थानमा भने दुवै देशका नागरिकले एकअर्काको जमिन भोगचलन गर्ने अवस्था रहेको छ, जसलाई ‘क्रस होल्डिङ अकुपेसन’ भनिन्छ।

श्रेष्ठले सीमावर्ती क्षेत्रमा देखिने यस्तो अवस्था भूमि अतिक्रमण नभई ऐतिहासिक र भौगोलिक कारणले सिर्जना भएको बताए। उनका अनुसार नदीले धार परिवर्तन गर्दा सीमा क्षेत्रका केही स्थानमा दुवै देशका किसानले एकअर्काको जमिन प्रयोग गर्ने अवस्था बनेको हो।

उदाहरणका रूपमा उनले वीरगन्ज क्षेत्रको सिर्सिया नदीलाई उल्लेख गरे। सुगौली सन्धिका बेला सोझो बगेको नदी पछि धार परिवर्तन भएर घुमाउरो बनेपछि केही नेपालीले प्रयोग गर्दै आएका जमिन भारतीय पक्षमा र केही भारतीय जमिन नेपाली पक्षको भोगचलनमा पर्न गएको उनको भनाइ छ।

तर, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रको विषय भने फरक प्रकृतिको रहेको उनले बताए। ती क्षेत्रमा भारतले ठूलो भूभाग आफ्नो नियन्त्रणमा राखेको दाबी गर्दै उनले यसलाई सीमावर्ती क्षेत्रमा देखिने सामान्य क्रस होल्डिङसँग तुलना गर्न नमिल्ने उल्लेख गरे। उनका अनुसार लिम्पियाधुरा–कालापानी क्षेत्र करिब ३७२ वर्ग किलोमिटर भूभागमा फैलिएको छ।

यसैबीच, प्रधानमन्त्रीले संसद्मा सीमा विवादका विषयमा भारत र चीनसँग मात्र नभई बेलायतसँग पनि संवाद भएको संकेत गरेपछि त्यसले नयाँ बहस सिर्जना गरेको छ। श्रेष्ठले सुगौली सन्धि तत्कालीन ब्रिटिस इन्डियासँग भएको स्मरण गराउँदै आवश्यक परे बेलायतलाई मध्यस्थताका लागि आग्रह गर्नु सकारात्मक पहल हुन सक्ने बताए।

उनले दुई देशबीचको सीमा विवाद समाधानको पहिलो आधार आपसी कूटनीतिक संवाद नै हुने उल्लेख गर्दै त्यसबाट निकास ननिस्किए तेस्रो पक्षको मध्यस्थता खोज्न सकिने धारणा व्यक्त गरे।

श्रेष्ठका अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र लामो समयदेखि भारतको नियन्त्रणमा रहेकाले नेपालले निरन्तर आफ्नो दाबी उठाउँदै आएको छ। यदि बेलायतको मध्यस्थतामा वार्ता प्रक्रिया अघि बढ्न सके र त्यसमा भारत सहमत भए, विवाद समाधानतर्फ महत्वपूर्ण कदम हुन सक्ने उनको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ । विपक्षीले शाहको राजीनामा समेत माग गरेका हुन् ।