२९ आश्विन २०८३, बिहिबार

शान्त मनले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर संघर्ष सम्झन अध्यक्ष ओलीको आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष सम्झन र लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैमा आह्वान गरेका छन् ।

१९ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर संघर्ष सम्झन आह्वान गरेका हुन् ।

‘गणतन्त्र दिवसको यस पवित्र दिनमा उद्वेलित नभईकन, शान्त मनले लोकतन्त्र प्राप्तिका लागि गरिएका कठोर संघर्ष सम्झन र लोकतन्त्र कमजोर भयो भने भविष्य कस्तो होला भनेर चिन्तन गर्न म सबैमा आह्वान गर्दछु ।’ अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले गणतन्त्र नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै उनले जनताले आफ्नै प्रतिनिधिमार्फत शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न हजारौं अग्रजले जीवन बलिदान दिएको तथा धेरैले जेल, यातना र निर्वासन भोग्नुपरेको स्मरण गरेका छन् । ‘जनताले आफ्ना लागि आफैंले शासनप्रणाली निर्धारण गर्ने गणतान्त्रिक अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो संघर्ष गर्नु पर्‍यो । बोल्ने, लेख्ने, संगठित हुने र राजनीतिक विचार राख्ने अधिकार प्राप्त गर्ने क्रममा हजारौं अग्रजहरुले जीउज्यान अर्पण गर्नु पर्‍यो । कयौंले दशकौं लामो जेलनेल, यातना र निर्वासन समेत भोग्नु पर्‍यो । जनताको धेरै ठूलो संघर्ष र बलिदानपछि हुकुमबाट चल्ने प्रणाली फ्याँकियो, कानुनबाट चल्ने प्रणाली स्थापना भयो । व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा, लोकतान्त्रिक अङ्ग र संरचनाहरूबाट सञ्चालन हुने पद्धति सुरू भयो । जनताको आजादीको यस व्यवस्था स्थापनाका लागि जीवन गुमाउनुहुने अमर शहीदहरू र अग्रजहरुप्रति भावपूर्ण श्रद्धार्पण गर्दछु ।’ ओलीले भनेका छन् ।

अध्यक्ष ओलीले गणतन्त्र केवल शासन प्रणाली परिवर्तन नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताए । शताब्दीयौँसम्म ‘प्रजा’ भएर बाँचेको समाज संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको उनको भनाइ छ ।

‘गणतन्त्र– शासन प्रणाली परिवर्तनको मात्रै विषय थिएन, यो नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण पनि थियो । शताब्दीयौँसम्म ‘प्रजा’भएर बाँचेको समाज, आफैंले बनाएको संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको थियो । परिवर्तित अभ्यासमा परिपक्वता आउन अवश्य पनि लामो समय लाग्छ, हामीले पनि त्यस्तै अनुभव गरेका छौँ ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ।

ओलीले स्थानीय सरकारको विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएको समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, डिजिटल सेवामा पहुँच, सडक तथा सञ्चार विस्तारलाई गणतन्त्रका उपलब्धिका रूपमा व्याख्या गरेका छन् । ‘आज गाउँगाउँमा पुगेको स्थानीय सरकार र राज्यको साधनस्रोत, राज्यका हरेक तहमा बढेको महिला, दलित, जनजाति, मधेशी र पिछडिएको समुदायको प्रतिनिधित्व र सहभागिता, खुला अभिव्यक्ति, नागरिक स्वतन्त्रता, सेवामा डिजिटल पहुँच, सडक र सञ्चारको विस्तार– यी सबै परिवर्तन आकस्मिक रूपमा आएका होइनन् । यी सबै गणतन्त्रका उपलब्धि हुन् । यद्यपि परिवर्तनको गति हामीले चाहेजति तीव्र हुन सकेको छैन । त्यस्तो गति सामाजिक चेतनामा भर पर्छ । चाहेजति गतिमा परिवर्तन हुन नसक्दा प्रणालीसँगै असन्तुष्टि हुन पनि सक्छ, तर ती असन्तुष्टिको वैधानिक रूपमा सम्बोधन गर्न पनि गणतान्त्रिक प्रणाली नै चाहिन्छ ।’ ओलीले भने ।

उनले जनताको निराशाबाट लाभ लिन लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिप्रति सचेत गराउँदै यस्तो कार्यले अधिनायकवादको जोखिम बढाउने चेतावनी दिए ।

‘त्यसैले, यस व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन् । लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले तत्काल होइन, जीवन भोगाइको नतिजामा बिस्तारै थाहा पाउने कुरा हो । जनताको निराशाबाट लाभ लिन संस्थामाथि अविश्वास रोप्ने र भावनालाई दुरुत्साहन गरेर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिबाट लोकतान्त्रिक अधिकार कमजोर बन्ने तथा अधिनायक तन्त्र हुर्किने जोखिम रहन्छ ।’ अध्यक्ष ओलीले भने,
‘संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकारक्षेत्रको अनतिक्रम्यता र रक्षा नै, यसबेला समग्रमा हाम्रो गणतन्त्रको रक्षा हो । लोकतान्त्रिक गणतन्त्र नभए केके गुमाउनु पर्छ भन्ने कुरा गणतन्त्र नरहेका बेला मात्रै समाजले महसुस गर्न पाउँछ, जुन हाम्रो अघिल्लो पुस्ताले भोगेको थियो ।’

संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको रक्षा गर्नु नै गणतन्त्रको रक्षा भएको उल्लेख गर्दै ओलीले लोकतान्त्रिक संस्थाहरू कमजोर भए समाज र जनताको भविष्यसमेत कमजोर हुने बताए । ‘लोकतन्त्रका यी संस्थाहरू कमजोर भए भने कुनै पनि समाज बलियो रहँदैन, जनताले सुख पनि पाउँदैनन् । तसर्थ, लोकतान्त्रिक गणतन्त्रका यी अङ्गहरूको रक्षा गर्नु भनेको हामी सबैको भविष्यको रक्षा गर्नु हो ।’ अध्यक्ष ओलीले भनेका छन् ।