काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड मेन्युफेक्चरर्स एसोसिएशन (नाइमा) ले विद्युतीय सवारीसाधन (ईभी) को मोटर पावरलाई आधार बनाएर कर तथा नीतिगत व्यवस्था परिवर्तन गर्ने विषयमा भइरहेको बहसप्रति गम्भीर चासो व्यक्त गरेको छ ।
नाइमाले जारी गरेको प्रेस विज्ञप्तिमा विद्युतीय सवारीको मूल्यांकन केवल मोटर पावरका आधारमा गर्नु वैज्ञानिक तथा व्यवहारिक दुवै दृष्टिले उपयुक्त नहुने उल्लेख गरेको हो । संस्थाले विश्व बजारमा ईभीको वर्गीकरण र कर प्रणाली ऊर्जा दक्षता, ब्याट्री क्षमता, वातावरणीय प्रभाव, सुरक्षा मापदण्ड तथा प्रविधिगत विशेषताका आधारमा निर्धारण हुँदै आएको जनाएको छ ।
विज्ञप्तिमा नेपालले पछिल्ला वर्षहरूमा हरित ऊर्जा प्रवर्द्धन, पेट्रोलियम पदार्थमा निर्भरता न्यूनीकरण तथा वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको सन्दर्भमा ईभीमैत्री नीतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । नीतिगत अस्थिरता वा कर संरचनामा हुने असन्तुलित परिवर्तनले लगानी वातावरण प्रभावित हुनुका साथै उपभोक्तामा अन्योल सिर्जना हुने नाइमाको भनाइ छ ।
संस्थाले विद्युतीय सवारी क्षेत्र केवल व्यापारिक विषय नभई ऊर्जा सुरक्षा, दिगो विकास र वातावरणीय प्रतिबद्धतासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै सरकारलाई दीर्घकालीन दृष्टिकोणसहित नीति निर्माण गर्न आग्रह गरेको छ ।
नाइमाले सरकार, निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाबीच व्यापक परामर्श र अध्ययनपछि मात्र कुनै नीतिगत निर्णय लिनुपर्ने आवश्यकता औंल्याएको छ । साथै, विद्युतीय सवारीको प्रयोग र विस्तारलाई प्रोत्साहन गर्ने खालका नीतिलाई निरन्तरता दिन सरकारसँग अनुरोध गरेको छ ।









प्रतिक्रिया