काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो ।
सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो । “चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,” निर्देशक वसन्त निरौलाले भने, “यो चलचित्रको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन सिनेमामा पनि देखिनेछ ।”
कालीरानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक निरौलाले निर्देशन गरेका छन् । चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् ।
यस्तै, सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी लगायतको पनि अभिनय रहेको छ ।
चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
चलचित्रको निर्माणमा काली रानी श्रेष्ठ छिन् । चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिएको छ ।
कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रको नाम, कथा र कास्टका कारण प्रतिक्षित बनेको छ ।









प्रतिक्रिया