काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाली फिल्म पहिलोपटक विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा छनोट हुनु देशकै लागि गर्वको विषय भएको बताएकी छन् ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले इतिहासमै पहिलोपटक नेपाली फिचर फिल्म कान्स फिल्म फेस्टिभलमा छनोट हुनु नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताएकी हुन् । उक्त फिल्मको वल्र्ड प्रिमियर कार्यक्रममा आफू पनि सहभागी भएको उनले बताइन् ।

उनले भनिन्, ‘नेपालीहरुको लागि एकदमै महत्वपूर्ण कुरा कान्स फिल्म फेस्टिभल पनि रहेको थियो । इतिहासमा नै पहिलोपटक कान्स फिल्म फेस्टिभलमा नेपाली फिचर छानिएको थियो । यो एउटा गर्व गर्ने क्षण रहेको थियो ।’
कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले क्रियटिभ सेक्टरलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि पारित गरिसकेको पनि जानकारी दिइन् ।
‘महानगरपालिकाले क्रियटिभ सेक्टरलाई व्यवस्थित बनाउन आवश्यक कार्यविधि पास गरेका छौँ । धेरै सिटीको लागि नयाँ थियो । त्यो पोलिसि बनाएर नै क्रियटिभ सेक्टरलाई निरन्तरता दिन कार्यविधि चाहिन्छ, कानुन चाहिन्छ, नीति चाहिन्छ । जसले गर्दा यो काम गर्न सजिलो होस् भनेर कुरा राख्यौँ। धेरै सहरहरुको लागि यो कुरा नयाँ थियो ।’ उनले भनिन् ।
उनले काठमाडौं फिल्म फेस्टिभल पहिलोचोटी सिटीले होस्ट गर्दै छ भन्ने जानकारी दिएको बताइन् । उनले भनिन्, ‘काठमाडौं फिल्म फेस्टिभल पहिलोचोटी सिटीले होस्ट गदै छ भनेर जानकारी गराउने काम पनि भयो । त्यसले गर्दा सबै जना खुसी भएका छन् ।’









प्रतिक्रिया