२८ आश्विन २०८३, बुधबार

ट्रम्पकी छोरी इभान्कालाई ज्यान मार्ने धम्की दिने पक्राउ, आरोपीसँग थियो घरको ब्लूप्रिन्ट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पलाई हत्याको धम्की आएको छ ।

न्यु योर्क पोस्टको रिपोर्ट अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)लाई समर्थन गर्ने एक संदिग्ध व्यक्तिले इभान्कालाई हत्या गर्ने षड्यन्त्र रचेका थिए ।

अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले ३२ वर्षीय इराकी नागरिक मोहम्मद बाकर साद दाऊद अल–सादीलाई पक्राउ गरेको छ । उनीमाथि इभान्कालाई मार्ने धम्की दिएको आरोप छ । अल–सादीसँग इभान्का र उनका श्रीमान् जारेड कुशनरको फ्लोरिडा घरको ब्लूप्रिन्ट पनि फेला परेको थियो ।

उनले सामाजिक सञ्जालमा धम्की दिँदै लेखेका थिए, ‘अमेरिकीहरूले बुझ्नुपर्छ कि बढ्दो सुरक्षा र गोप्य सेवाको सहयोगले मात्र उनीहरूलाई सुरक्षित राख्न सक्दैन । हामी उनीहरूमाथि नजर राखिरहेका छौँ, र सही समय आएपछि हामी बदला लिनेछौँ ।’

अल–सादीलाई मे १५ मा टर्कीमा पक्राउ गरिएको थियो र त्यसपछि अमेरिकामा लगिएको थियो । अधिकारीहरूले उनीमाथि युरोप र उत्तरी अमेरिकामा १८ वटा आक्रमण र आक्रमणको प्रयासमा संलग्न रहेको आरोप लगाएका छन् । जसमा कथित आगजनी, गोलीबारी, छुरा प्रहार, यहूदी स्थलहरू र अमेरिकी कूटनीतिक सुविधाहरूलाई लक्षित गरी गरिएका आक्रमणहरू समावेश छ ।

अमेरिकी अधिकारीहरूले अनुसन्धान जारी राख्दै अल–सादीलाई हाल ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा एकान्त कारावासमा राखेको समाचारमा उल्लेख गरिएको छ ।