२५ असार २०८३, बिहिबार

रविलाई आफ्नै सांसदको प्रश्न– सुकम्बासी व्यवस्थापनको नाममा मनपरी भयो, पार्टीको धारणा के हो ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले पार्टी सभापति रवि लामिछानेसँग सुकुम्बासी बस्ती व्यवस्थापनबारे पार्टीको स्पष्ट धारणा के हो ? भन्दै प्रश्न गरेकी छन् ।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति लामिछानेले कोशी प्रदेशबाट निर्वाचित रास्वपा सांसदहरूसँग छलफल गरेका थिए ।

छलफलमा सांसद रानाले स्थानीय तहहरूले सुकुम्बासी व्यवस्थापनको नाममा मनपरी ढंगले काम गरिरहेको भन्दै पार्टीको धारणा मागेकी हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले केन्द्रीय सरकारको निर्देशन भन्दै झापाका केही स्थानीय तहले सुकुम्बासी बस्ती हटाउन सूचना जारी गरिरहेकोप्रति आपत्ति जनाइन् । उनले लालपूर्जा भएका नागरिकलाई समेत उठ्न नोटिस दिने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘सुकम्बासी बस्ती व्यवस्थापनको सम्बन्धमा हाम्रो पार्टीको स्पष्ट धारणा आउनुपर्छ । अहिले स्थानीय सरकारले व्यवस्थापनको नाममा जे पायो त्यही गरिरहेको छ । लालपूर्जा भएका नागरिकलाई पनि नोटिस दिएर उठ्न भनिएको छ । नदी हडपेर बस्नु गलत हो, तर व्यवस्थापनको नाममा मनपरी गर्नु पनि ठीक होइन ।

सांसद रानाले काठमाडौंमा भएको सुकुम्बासी हटाउने घटनालाई आधार बनाएर झापाका स्थानीय तहहरूले धमाधम खाली गराउने सूचना जारी गर्नु गलत भएको बताइन् ।