३१ जेष्ठ २०८३, आइतबार

मधेश प्रदेश सरकारमा एमालेको ‘सरप्राइज इन्ट्री’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा (एमाले) सहभागी भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरिरहँदा बिहीबार अबेर राति एमालेबाट मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराइएको छ ।

विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमालेको सरकारमा भएको यो प्रवेशले सत्ता समीकरण पूर्णतः फेरिने संकेत गरेको छ ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार एमालेबाट थप ३ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । उनले मोहम्मद समिरले आजै शपथ ग्रहण गर्ने र अन्य तीन मन्त्रीलाई साँझसम्म शपथ गराउने तयारी रहेको जानकारी दिए ।

उनका अनुसार एमालेले चार वटा मन्त्रालय पाउने सहमति भएको छ । उनले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार एमाले सरकारमा सहभागी भएको प्रस्ट पारे । साथै, उनले जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिने दाबी गरे । तर, हिजो मात्रै जसपा नेपालको संसदीय दलको बैठकले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने भन्दै ह्वीप जारी गरिसकेको छ ।

मुख्यमन्त्री यादवले भने जसपा नेपाललाई पनि सँगै लिएर अघि बढ्ने प्रयास गरिरहेको बुझिएको छ ।

प्रदेश सभामा जसपा नेपालका २६, नेकपा (एमाले)का २४, नेपाली कांग्रेसका २२, नेकपा (माओवादी केन्द्र)का १३, जनमत पार्टीका १२, तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सदस्य छन् । कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) गरी ६० र जसपा नेपालको समर्थनसमेत जोड्दा मुख्यमन्त्री यादवले करिब ८६ सांसदको विश्वासको मत पाउने देखिन्छ ।