काठमाडौं । भारतमा पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘कक्रोज जनता पार्टी’ नामक अभियानको चर्चा चलिरहेको छ ।
कक्रोज पार्टीको नामबाट सुरु भएको अनलाइन व्यंग्य अभियान केही दिनमै सामाजिक सञ्जालमा इन्स्टाग्राममा ठूलो राजनीतिक शक्तिमध्येको एक बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो अभियान मे १६ बाट सुरु भएको थियो । यसलाई युवाहरूले चलाएको व्यंग्यात्मक आन्दोलन भनिएको छ ।
भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तले युवाहरु र कक्रोजप्रति गरेको टिप्पणीपछि यो अभियान सुरु भएको हो । यद्यपि, न्यायाधीश सूर्य कान्तले शनिबार आफ्नो टिप्पणीमा स्पष्टीकरण जारी गर्दै मिडियाले उनको टिप्पणीलाई गलत तरिकाले प्रस्तुत गरेको बताएका थिए ।
अभिजीत दीपकले सुरु गरेको कक्रोज जनता पार्टी अभियान सुरु भएको चार दिनमै पार्टीले ९० लाख भन्दा बढी फलोअर्सहरू प्राप्त गरेको छ । यो फलोअर्स भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को आधिकारिक इन्स्टाग्राम खाताको संख्याभन्दा बढी हो । कक्रोज पार्टीले मे २० सम्म ९३ लाख फलोअर्स पार गर्दा भाजपाको आधिकारिक इन्स्टाग्राम ह्यान्डलको करिब ८७ लाख फलोअर्स छ ।
यद्यपि, विपक्षी दल कांग्रेस सामाजिक सञ्जालमा अगाडि रहेको छ, यसको इन्स्टाग्राम खातामा करिब १ करोड ३२ लाख फलोअर्स छ । आम आदमी पार्टीको भने १ करोड ९ लाख फलोअर्स रहेको छ ।








प्रतिक्रिया