२९ आश्विन २०८३, बिहिबार

सर्वोच्चले सच्यायो आफ्नै निर्णय, उपत्यकाका नदी किनारमा निर्माण गर्दा पुरानै दूरी कायम

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका नदी तथा खोलाको किनारमा निर्माण अनुमति सम्बन्धी यसअघिको आदेश संशोधन गरेको छ। अदालतको पूर्ण इजलासले पहिले कायम गरिएको मापदण्डलाई नै लागू गर्नुपर्ने निर्णय गर्दै अतिरिक्त २० मिटर खाली राख्नुपर्ने व्यवस्था खारेज गरेको हो।

न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०६५ साल मंसिर १ गते तय गरिएको मापदण्ड यथावत् रहने आदेश दिएको छ। यससँगै उपत्यकाका नदी तथा खोलाको किनारमा निर्माण गर्दा पुरानै दूरी कायम हुने भएको छ।

अदालतको आदेशअनुसार बागमती, विष्णुमती र मनहरा नदी किनारबाट २० मिटर दूरी कायम गरेर निर्माण गर्न सकिनेछ। धोबीखोलाको हकमा आयोजना लागू भएको क्षेत्रमा परियोजनाको डिजाइनअनुसार निर्माण गर्न पाइनेछ भने अन्य क्षेत्रमा ९ मिटर खाली राख्नुपर्नेछ।

यस्तै, नख्खु खोलामा १२ मिटर, बल्खु तथा कर्मनासा लगायतका केही खोलामा १० मिटर, करखुसी खोलामा ६ मिटर र टुकुचा, सामाखुसीसहित अन्य साना खोलामा ४ मिटर दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

अदालतले कुनै पनि खोला, खोल्सो वा राजकुलो पुरेर वा छोपेर संरचना बनाउन नपाइने स्पष्ट गरेको छ। साथै हनुमन्ते खोला आसपासका नगरोन्मुख गाउँपालिकामा भने खोलाको किनारबाट २० मिटर खाली राख्नुपर्ने व्यवस्था कायम गरिएको छ।

पूर्ण इजलासले नीतिगत विषयमा कार्यपालिकाको अधिकार क्षेत्रलाई सम्मान गर्नुपर्ने सिद्धान्तसमेत उल्लेख गर्दै यसअघिको संयुक्त इजलासको आदेश पुनरावलोकनमार्फत उल्ट्याएको हो।