काठमाडौं । देवीनगर क्रिकेट क्लब (डीसीसी) द्वारा आयोजित ‘सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग–२०८३ (सिजन २)’ को अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। एक्सपर्ट एजुकेशनद्वारा पावर्ड प्रतियोगिताको अक्सन कार्यक्रम जेठ २ गते शनिबार रुपन्देहीको योगीकुटीस्थित होटल पौवामा आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी टोली मालिकहरूले खेलाडी खरिद प्रक्रिया पूरा गरेका थिए। प्रतियोगितामा प्रिन्ट हब किङ्स, एसजीए माभेरिक्स, मेगा राइनोज, एपीएस युनाइटेड र सिद्धार्थ रोयल गरी पाँच टोली सहभागी रहेका छन्। आयोजक क्लबका अनुसार प्रत्येक टोलीलाई खेलाडी व्यवस्थापनका लागि एक लाख ५० हजार रुपैयाँ ‘पकेट मनी’ उपलब्ध गराइएको छ।
प्रतियोगिताका खेलहरू जेठ ९ गतेदेखि देवीनगर रंगशाला मिनी ग्राउन्डमा सञ्चालन हुनेछन्। लिग चरणअन्तर्गत प्रत्येक टोलीले अन्य सबै टोलीसँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अंक तालिकाका आधारमा उत्कृष्ट टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिता सफल बनाउन विभिन्न संघसंस्था तथा कम्पनीहरूको महत्वपूर्ण सहयोग रहेको क्लबले जनाएको छ। सहयोगी संस्थाहरूमा इ–ड्राइभ नेपाल, बुटवलको फुल्की, नेपाथ्ये कलेज, मञ्जुश्री फाइनान्स, कोडा पल्स ग्लोबल, करेन्ट नुडल्स लगायत रहेका छन्।
देवीनगर क्रिकेट क्लबका सचिव गणेश पाण्डेयले प्रतियोगिताले स्थानीय क्रिकेट खेलाडीलाई अवसर प्रदान गर्नुका साथै क्रिकेट विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
वि.सं. २०७६ सालमा पाँच सदस्यबाट स्थापना भएको देवीनगर क्रिकेट क्लबमा हाल ९२ सदस्य आबद्ध रहेका छन्। क्लबले क्रिकेट गतिविधि तथा खेल विकासका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको जनाएको छ।
















प्रतिक्रिया