१ श्रावण २०८३, शुक्रबार

‘मितज्यू’को अग्रिम टिकट बुकिङ खुला, कति पायो शो ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय चलचित्र जाँच पास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएसँगै आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ खुला भएको छ ।

सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेगरी सेन्सर पास भएको यस चलचित्रले बुधबार बिहानसम्म देशभरका ११ वटा हलमा २८ शो प्राप्त गर्दै आक्रामक सुरुवात गरेको हो ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्तीमगरद्वारा निर्मित तथा अनिल बुढामगर निर्देशित यस चलचित्रले हलहरूमा सुखद शो पाएको छ । एफक्युब चाबहिल, आइएनआईका बुटवल, नयाँ बानेश्वर, सिमरा, लोत्से मल र विश्वज्योतिसहित दाङ, बनेपा र कपिलवस्तुका सिनेमा हलहरूले बुकिङ खुलाइसकेका छन् । आफ्नो अघिल्लो चलचित्र ‘घरज्वाईँ’को सेन्सर ताका झन्झट बेहोर्नु परेको स्मरण गर्दै निर्देशक बुढामगरले यसपटक सहजै युनिभर्सल सर्टिफिकेट पाउँदा सम्पूर्ण निर्माण टिम हर्षित भएको बताए ।

ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय रहेको छ भने चर्चित डान्सर तेरिया फौज मगरले यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी छिन् । चलचित्रमा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायतका कलाकारहरूको समेत सशक्त अभिनय छ ।

शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको ‘मितज्यू’मा श्रीकृष्ण बम मल्लको संगीत तथा मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ ।

हाल चलचित्रमा समावेश ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ बोलका गीतहरू टिकटक र युट्युबमा निकै चर्चामा छन् । आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यस चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ ।