बाजुरा । मंगलबार बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा झडप भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली अपि सैपाल हिमालको बेस क्याम्प रानी सैन भ्रमणमा गएको बेला झडप भएको हो ।
झडपका क्रममा पाँच जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, हिमाली गाउँपालिका ३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, ३३ बर्षिया लक्ष्मी गुरुङ, २४ वर्षीय मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी रहेका छन् ।
‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल, हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, प्रशासकीय अधिकृतसहित ४० जनाको टोली रानिसैन हिँडेको बेला झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेशबहादुर शाहीले बताए ।
ड्रोनबाट भिडियो खिच्ने क्रममा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका २ थाली गाउँका करिब दुई सय बढी स्थानीय आक्रोशित भई वादविवाद र हातपात हुँदा पाँच जना घाइते भएको जानकारी दिए । घाइते सबैको ढाड, गर्धन, छाती, र खुट्टामा चोट लागेको छ । उनीहरू सबैको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
करिब तीन सय हुम्ली जनताले अराजक शैलीमा हात हालाहाल गरेका हुन् । झडपपछि घाइतेलाई लिएर टोली गन्तव्य स्थानमा नपुगी त्यहाँबाट फर्केको हुन् । विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका–३ लाम्पाटा र चिया चौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरूले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन् ।
रानी सैन, च्याचौर र लाम्पाटा क्षेत्र नापी, लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्लाअन्तर्गत पर्ने भूमि हो । यस क्षेत्रमा विकास निर्माणमा अवरोध सिर्जना गर्नु तथा स्थानीय र भ्रमण टोलीमाथि आक्रमण गर्नु निन्दनीय कार्य मानिएको छ । यस क्षेत्रको शान्ति सुरक्षाको लागि हिमाली गाउँपालिका–३ लाम्पाटास्थित च्याचौरमा अस्थायी प्रहरी चौकीको भवन निर्माण कार्य भइरहेको छ । २०८३ जेठ ३ गते लाम्पाटास्थित अस्थायी प्रहरी चौकी निर्माण हुने स्थानमा निर्माण तथा सिमानासम्बन्धी स्थानीयबीच विवाद उत्पन्न भएको थियो ।
अस्थायी प्रहरी चौकी निमार्ण तथा सिमाना विवादकै कारण घटना भएको बताइएको छ । दोषीलाई कारबाही गर्न माग गरिएको छ ।








प्रतिक्रिया