काठमाडौं । नेपाली कला क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका युवायुवतीहरूको आकर्षण तीव्र रूपमा बढिरहेको छ । सामाजिक सञ्जालको विस्तारसँगै अवसरका ढोकाहरू खुलिरहेका बेला गोर्खाबाट राजधानीसम्म आइपुगेर आफ्नो भविष्य निर्माण गर्न संघर्ष गर्ने प्रतिभाहरूको संख्या पनि उल्लेख्य छ । यही भिडमा आफ्नो छुट्टै पहिचान बनाउन निरन्तर मेहनत गरिरहेकी छन् गोरखा गुम्दाकी युवा मोडल तथा डान्सर प्रिती गुरुङ ।
गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा जन्मिएकी प्रिती अहिले काठमाडौंको नागार्जुन–३ ठूलोभर्याङलाई आफ्नो कर्मथलो बनाउँदै कला क्षेत्रमा सक्रिय रूपमा संघर्ष गरिरहेकी छन् । ग्रामीण परिवेशबाट राजधानीको प्रतिस्पर्धात्मक वातावरणसम्म आइपुग्दा उनले धेरै चुनौतीहरू पार गरिसकेकी छन् । तर, चुनौतीका बीच पनि उनको आत्मविश्वास कमजोर बनेन । बरु त्यही संघर्षले उनलाई अझ परिपक्व र लक्ष्यप्रति केन्द्रित बनाएको देखिन्छ ।
वि.सं. २०६१ फागुन १२ गते जन्मिएकी प्रिती सानैदेखि नृत्य, अभिनय र सांगीतिक प्रस्तुतिप्रति आकर्षित थिइन् । विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रमदेखि स्थानीय मञ्चसम्म उनले आफ्नो प्रतिभा देखाउन थालेकी थिइन् । परिवार र नजिकका साथीभाइले दिएको हौसलाले उनलाई कला क्षेत्रमा अझ गम्भीर बनाएको बताइन्छ ।
उनका पिता माइला गुरुङ र आमा सिर्मिला गुरुङ हुन् । सामान्य पारिवारिक पृष्ठभूमिबाट आएकी प्रितीले अवसर आफैंले खोज्नुपर्ने अवस्था रहेको अनुभव सुनाउँछिन् । नेपाली कला क्षेत्रमा प्रवेश गर्नु सजिलो नभएको स्वीकार गर्दै उनी भन्छिन्– “यहाँ टिक्न प्रतिभा मात्रै होइन, धैर्यता र निरन्तर मेहनत पनि चाहिन्छ ।”
प्रितीले सूर्योदय माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकी हुन् । अध्ययनसँगै उनले आफ्नो व्यक्तित्व विकास र व्यावसायिक क्षमतामा पनि ध्यान दिएकी छन् । मोडलिङ क्षेत्रमा आवश्यक पर्ने प्रस्तुति, आत्मविश्वास र व्यवहारिक सीपलाई मजबुत बनाउन उनले विशेष मोडलिङ तालिम लिएकी छन् । त्यति मात्रै होइन, कला क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि आफूलाई सक्षम बनाउन उनले तीन महिनाको ‘अफिस ह्यान्डलिङ प्याकेज’ तालिमसमेत पूरा गरेकी छन् ।
नेपाली, अंग्रेजी र हिन्दी भाषामा राम्रो दख्खल राख्ने प्रिती नयाँ वातावरणमा छिट्टै घुलमिल हुनसक्ने स्वभावकी छिन् । टिममा मिलेर काम गर्न रुचाउने उनी अनुशासन, समयपालन र इमानदारीलाई आफ्नो मुख्य शक्ति मान्छिन् । “मानिसले अवसरभन्दा पहिले आफ्नो व्यवहार र कामप्रतिको समर्पण देखाउनुपर्छ,” भन्ने उनको सोच छ ।
पछिल्लो समय उनले केही नेपाली म्युजिक भिडियोहरूमा मोडलिङ गरिसकेकी छन् । यद्यपि उनी अहिले पनि आफूलाई सिकाइ र संघर्षकै यात्रामा रहेको बताउँछिन् । विभिन्न स्टेज शो, सांस्कृतिक कार्यक्रम तथा लाइभ प्रस्तुतिहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी उनले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेकी छन् । उनको प्रस्तुति, आत्मविश्वास र मेहनतले भविष्यमा नेपाली मनोरञ्जन क्षेत्रमा बलियो स्थान बनाउन सक्ने संकेत देखिन थालेको कलाकारहरू बताउँछन् ।
आजको समयमा सामाजिक सञ्जालले कलाकार जन्माउने ठूलो प्लेटफर्मको भूमिका खेलेको छ । टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबमार्फत धेरै नयाँ अनुहार चर्चामा आइरहेका छन् । यही बदलिएको परिवेशमा प्रितीले पनि आफ्नो प्रतिभालाई डिजिटल प्लेटफर्ममार्फत दर्शकमाझ पुर्याइरहेकी छन् । उनी कला क्षेत्रलाई केवल ग्ल्यामर वा लोकप्रियताको माध्यमका रूपमा नभई आफ्नो पहिचान र क्षमता प्रमाणित गर्ने क्षेत्रका रूपमा हेर्छिन् ।
कला क्षेत्रमा संघर्ष गरिरहेका धेरै युवायुवतीहरू अवसरको खोजीमा राजधानी धाइरहेका बेला प्रिती गुरुङ पनि त्यही भीडभित्र फरक सपना बोकेर अघि बढिरहेकी पात्र हुन् । मेहनत, धैर्यता र लगनशीलतालाई आफ्नो आधार बनाएकी उनी भविष्यमा सफल मोडल र कलाकार बन्ने लक्ष्यसहित निरन्तर सक्रिय छिन् । नेपाली कला क्षेत्रमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै अघि बढिरहेकी प्रिती गुरुङको यात्रा अहिले धेरै युवाका लागि प्रेरणाको विषय बन्दै गएको छ ।








प्रतिक्रिया