काठमाडौं । विश्वप्रसिद्ध होटल समूह एक्युर अन्तर्गतको आधुनिक लाइफस्टाइल ब्राण्ड ट्राइब अब काठमाडौंको बुढानीलकण्ठमा बन्ने भएको छ । दक्षिण एशियामै पहिलो पटक नेपालमा भित्रिन लागेको यो ब्राण्डलाई होटल सब्रिना लिमिटेडले साझेदारीमा विकास गर्न लागेको हो ।
नेपालको पर्यटन बजारमा पछिल्लो समय अन्तर्राष्ट्रिय होटल ब्राण्डहरूको चासो बढिरहेका बेला ट्राइबजस्तो विश्वस्तरीय ब्राण्ड नेपालमा आउनु आफैंमा ठूलो उपलब्धि मानिएको छ । विशेषगरी विश्वका ११० भन्दा बढी देशमा आफ्नो प्रभावशाली उपस्थिति बनाएको अकोर समूह अन्तर्गतको ब्राण्ड नेपालमा भित्रिनु नेपाली पर्यटन क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वासको संकेतका रूपमा हेरिएको हो ।
यस परियोजनाका लागि होटल सब्रिना लिमिटेड र अकोर समूहअन्तर्गत ट्राइब ब्राण्डका प्रतिनिधिबीच होटल निर्माण तथा सञ्चालनसम्बन्धी सहमतिमा औपचारिक हस्ताक्षरसमेत सम्पन्न भइसकेको छ । सन् २०२९ सम्म सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण हुन लागेको ट्राइबले बुढानीलकण्ठलाई नयाँ पहिचान दिने विश्वास लिइएको साब्रिना लिमिटेडका अध्यक्ष निराजन थापाले बताए । नेपालको आर्थिक विकासको सबैभन्दा बलियो आधार पर्यटन नै भएको स्पष्ट धारणा राख्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरको आतिथ्य गन्तव्य बनाउने उद्देश्यसहित परियोजना अघि बढाइएको उनको भनाइ छ ।
“नेपाल संसारकै अनुपम प्राकृतिक सौन्दर्य भएको देश हो । यहाँ हिमाल छ, संस्कृति छ, अध्यात्म छ, जैविक विविधता छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि हामीले पर्यटनलाई विश्वस्तरीय ढंगले प्रस्तुत गर्न सकेका छैनौँ । अब नेपाललाई गुणस्तरीय पर्यटनको केन्द्र बनाउनुपर्छ भन्ने उद्देश्यले हामीले ट्राइबजस्तो अन्तर्राष्ट्रिय ब्राण्ड ल्याएका हौँ । अहिले विश्वभरका पर्यटकहरूको रुचि बदलिँदै गएको छ । पर्यटकहरू केवल बस्ने होटल होइन, अनुभव खोजिरहेका छन् । आधुनिक डिजाइन, सामाजिक वातावरण, स्थानीय संस्कृति, आरामदायी सुविधा र अन्तर्राष्ट्रिय स्तरको सेवा एउटै स्थानमा चाहने नयाँ पुस्ताका यात्रुलाई लक्षित गर्दै ट्राइब अवधारणा नेपालमा ल्याइएको हो,” अध्यक्ष थापाले भने ।
थापाले आफूहरू होटल व्यवसायमा नयाँ नभएको उल्लेख गर्दै आतिथ्य क्षेत्रमा पहिलेदेखिको अनुभव र सक्षम व्यवस्थापन टीमका कारण यो परियोजना सफल हुने विश्वास व्यक्त गरे । “हामीसँग होटल सञ्चालनको लामो अनुभव छ । हाम्रो नेपाली टिम अनुभवी छ भने अन्तर्राष्ट्रिय साझेदार समूहको अनुभव झन् बलियो छ । अकोरजस्तो विश्वप्रसिद्ध समूहसँगको सहकार्यले हामीलाई थप आत्मविश्वास दिएको छ । हामी परिणाममुखी ढंगले काम गर्छौँ,” उनले भने ।
उनका अनुसार ट्राइब काठमाडौं बुढानीलकण्ठ केवल होटल मात्र नभई काठमाडौंकै नयाँ ‘लाइफस्टाइल डेस्टिनेशन’ बन्नेछ । यहाँ बस्ने पाहुनाले आधुनिक सुविधा मात्र होइन, सामाजिक घुलमिल, सांस्कृतिक अनुभव र अन्तर्राष्ट्रिय वातावरणको अनुभूति गर्न सक्नेछन् ।
उक्त होटलका निर्देशकहरू स्मृति पालिखे र सन्जिता गुरुङ थापाले पनि नेपालको पर्यटन क्षेत्र नै देश विकासको दीर्घकालीन आधार भएको बताए ।
निर्देशक पालिखेले पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी विस्तार हुन आवश्यक रहेको बताइन् । “नेपालमा पर्यटनको सम्भावना विशाल छ । यो क्षेत्रले लाखौँ युवालाई रोजगारी दिन सक्छ, विदेशी मुद्रा भित्र्याउन सक्छ र नेपालको अन्तर्राष्ट्रिय छवि बलियो बनाउन सक्छ । त्यसैले हामीले पर्यटन क्षेत्रमा लगानी विस्तार गरेका हौँ,” उनले भनिन् ।
उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको सेवा र पूर्वाधार विकास गर्न सके पर्यटक बसाइ अवधि र खर्च दुवै बढ्ने बताइन् । “अब केवल पर्यटक भित्र्याउने होइन, गुणस्तरीय अनुभव दिने समय आएको छ,” उनले भनिन् ।
त्यस्तै निर्देशक गुरुङ थापाले नेपालमा आउने पर्यटकको चाहना बदलिँदै गएको बताउँदै आधुनिक आतिथ्य सेवामा लगानी गर्नु समयको आवश्यकता भएको धारणा राखेकी छिन् । “अहिलेका पर्यटकले केवल कोठा खोज्दैनन् । उनीहरूले अनुभव खोजिरहेका हुन्छन् । आराम, डिजाइन, संस्कृति, खानपान, सामाजिक वातावरण र डिजिटल सुविधा सबै एउटै स्थानमा चाहिन्छ । ट्राइबले त्यही नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्छ,” उनले भनिन् ।
निर्माण सम्पन्न भएपछि होटलमा १०० भन्दा बढी आधुनिक कोठा रहनेछन् । साथै अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट, विशेष बार, स्वीमिङ पुल, स्पा, फिटनेस सेन्टर तथा करिब ८०० वर्गमिटर क्षमताको इभेन्ट स्पेस रहनेछ ।
परियोजनालाई बुढानीलकण्ठ क्षेत्रमा ल्याइनु पनि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । पछिल्लो समय बुढानीलकण्ठ क्षेत्र शान्त वातावरण, हरियाली, उच्चस्तरीय आवास तथा धार्मिक,सांस्कृतिक पर्यटनका कारण विदेशी पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ ।
पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तूपा तथा शिवपुरी राष्ट्रिय निकुञ्जसँगको सहज पहुँचका कारण पनि यो क्षेत्रलाई नयाँ पर्यटन ‘हटस्पट’का रूपमा हेरिन थालिएको हो । विशेषगरी डिजिटल नोमाड, लामो समय बस्ने विदेशी पाहुना, वेलनेस टुरिजम तथा अध्यात्ममा रुचि राख्ने पर्यटकलाई लक्षित गर्दै होटलको अवधारणा तयार गरिएको बताइएको छ । विश्वव्यापी रूपमा होटल तथा आतिथ्य क्षेत्रमा अकोर समूहको प्रभाव अत्यन्त ठूलो मानिन्छ । लक्जरीदेखि इकोनोमी सेग्मेन्टसम्मका विभिन्न ब्राण्ड सञ्चालन गर्दै आएको अकोर समूह विश्वका प्रतिष्ठित होटल कम्पनीमध्ये एक हो । विशेषगरी ट्राइबजस्तो आधुनिक र डिजाइन केन्द्रित ब्राण्ड नेपालमा आउनुले काठमाडौंलाई दक्षिण एशियाकै उदीयमान लाइफस्टाइल गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समय नेपालमा साहसिक पर्यटन, अध्यात्मिक यात्रा, वेलनेस टुरिजम तथा डिजिटल नोमाड संस्कृतिको विस्तारसँगै अन्तर्राष्ट्रिय होटल समूहहरू नेपालप्रति आकर्षित हुन थालेका छन् । अध्यक्ष थापाले नेपालमा गुणस्तरीय पर्यटन पूर्वाधार निर्माण गर्न सके देशको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सकिने बताए ।
“पर्यटन केवल होटल व्यवसाय होइन, यो देशको आर्थिक मेरुदण्ड बन्न सक्ने क्षेत्र हो । हामी केवल भवन बनाइरहेका छैनौँ, नेपालको पर्यटन भविष्यप्रतिको विश्वास निर्माण गरिरहेका छौँ,” थापाले भने ।








प्रतिक्रिया