काठमाडौं । गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत ‘मायाको डोरीले मलाई’ सार्वजनिक भएको छ ।
गीतमा शम्भूजित बास्कोटाको संगीत रहेको छ भने गायिका रचना रिमालले स्वर दिएकी छन् । गीतको संगीत संयोजन भने दिक्षित पौडेलको रहेको छ ।
गीतसंगीत र साहित्य क्षेत्रमा तीन दशकभन्दा लामो समय सक्रिय रहेकी गीतकार खत्रीका स्वीकृति, त्रिवेणी, यात्री लगायतका एल्बमहरु प्रकाशित छन् भने दर्जनौं गीतहरु रेकर्डिङ भइसकेका छन् । उनले कथा, कविता, नियात्रा, उपन्यास र गीत विधामा कलम चलाउँदै आएकी छन् । रामगीता वाङ्मय मन्दिरको अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी पूर्वअध्यक्ष समेत रहेकी खत्रीले विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर काम गरिसकेकी छन् ।
‘मायाको डोरीले मलाई’ गीतको भिडियोमा दिक्पाल कार्की र सुरक्षा इट्नीको अभिनय रहेको छ । भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन् ।
मीन रावलको सम्पादन रहेको भिडियोलाई भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको अफिसियल युट्युब च्यानल बेस्ट टोन म्युजिकबाट सार्वजनिक गरिएको हो ।








प्रतिक्रिया