काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्रीको कार्यालय मातहत ल्याएका छन् । यसअघि गृह मन्त्रालयअन्तर्गत रहेको विभागलाई कार्यविभाजन परिवर्तन गर्दै उनले प्रधानमन्त्री कार्यालयमा ल्याएका हुन् ।
प्रधानमन्त्री साहले आफ्नो कार्यकारी शक्ति थप मजबुत बनाउने क्रममा यो कदम अघि सारेको स्रोतको दाबी छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालमा राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए । उक्त कदमको त्यतिबेला आलोचना भएको थियो ।
पछि निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ती विभागहरू सम्बन्धित मन्त्रालयमै फर्काएको थियो । त्यसबेला राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय र सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत सञ्चालन हुँदै आएको थियो ।
हालै प्रधानमन्त्री साहले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याएका हुन् । साहले राष्ट्रिय सुरक्षा र संवेदनशील सूचनासँग सम्बन्धित निकाय प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याएपछि शक्ति केन्द्रीकरण गर्न खोजेको भन्दै सरकारको आलोचना सुरु भएको छ ।
स्रोतका अनुसार साहले सम्पत्ति शुद्धीकरण विभागलाई समेत प्रधानमन्त्री कार्यालय मातहत ल्याउने प्रयास गरेका थिए । तर अर्थमन्त्री स्वर्णिम वाग्लेको अडानका कारण बालेनको उक्त प्रयास सफल हुन नसकेको बताइएको छ ।








प्रतिक्रिया