काठमाडौं । एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडअन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई नगद सहयोग तथा भोजन वितरण गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रम प्रिजनर्स असिस्टेन्स नेपालको परिसरमा सम्पन्न भएको थियो ।
कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एण्ड होटलका सञ्चालकले संस्थालाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गर्नुका साथै २०० बालबालिकाका लागि भोजनको व्यवस्था गरेका थिए । कार्यक्रममा होटलका प्रतिनिधि तथा संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो । यस पहलले समाजबाट प्रायः ओझेलमा पर्ने समुदायप्रति आत्मीयता र ऐक्यबद्धताको भावना झल्काएको थियो।
‘प्रिजनर्स असिस्टेन्स नेपाल’ मुख्यतः कारागारमा रहेका अभिभावकका बालबालिकाको पूर्ण हेरचाहमा समर्पित संस्था हो । संस्थाले ती बालबालिकालाई आवश्यक सहयोग, माया र अवसर प्रदान गर्न निरन्तर काम गर्दै आएको छ । साथै, यो संस्था कारागारलाई बन्दीहरूले भविष्य निर्माण गर्न सक्ने सकारात्मक स्थानका रूपमा विकास गर्ने दिशामा पनि सक्रिय छ । यस्ता सहयोगहरूले बालबालिका र उनीहरूको परिवारमा सम्मान र आशाको भावना पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । नगद सहयोगले संस्थाको सञ्चालन आवश्यकतामा सहयोग पुग्नेछ भने भोजन कार्यक्रमबाट संस्थामा आश्रित २०० बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन् ।
यस अवसरमा काठमाडौं मेरियट होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले भने, “कुनै पनि बालबालिकाले आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिका कारण पीडा भोग्न नपरोस् । यी बालबालिकाले जीवनमा धेरै कठिनाइ भोगिसकेका छन्, र उनीहरूलाई सम्मान, हेरचाह तथा राम्रो भविष्यको आशासहित हुर्कने वातावरण सुनिश्चित गर्नु हामी सबैको जिम्मेवारी हो ।”









प्रतिक्रिया