काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा सहवित्तीयकरण व्यवस्थापन गरी सहवित्तीयकरण बैंकहरुले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेगरी ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
बुधबार प्रवद्र्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेड एवं लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो । यो परियोजना गण्डकी प्रदेशको लमजुङको मर्स्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकामा निर्माण हुनेछ । परियोजनाको अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँमध्ये सहवित्तीयकरण बैंकहरुले ६७ः३३ को ऋण स्वपुँजी अनुपातमा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् भने ३३ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइनेछ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको उदीपुरस्थित सबस्टेशनमा जोडिनेछ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घन्टा र वर्षायाममा २००.५०३ गिगावाट गरी वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सहअगुवाई तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्फत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ क्षेत्र एवं स्वतन्त्रउर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई सञ्चालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए । हालसम्म निर्माण सम्पन्न भएका २७४.४०१ मेगावाट क्षमताका १६ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजनासहित जम्मा १,६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत आयोजनामा यस बैंकको लगानी रहेको छ ।
सिटिजन्स बैंकले हालसम्म १८ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, १७ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । साथै, बैंकले हाल कोशी प्रदेशमा ५२१.६६६ मेगावाट क्षमताका १४ वटा आयोजनाहरुमा, बग्मती प्रदेशमा ३९३.८२५ मेगावाट क्षमताका १४ वटा आयोजनाहरुमा, गण्डकी प्रदेशमा ६१६.४६५ मेगावाट क्षमताका ९ वटा आयोजनाहरुमा, लुम्बीनी प्रदेशमा ५३.०२ मेगावाट क्षमताका २ वटा आयोजनाहरुमा र कर्णाली प्रदेश २०.२५ मेगावाट क्षमताका ३ वटा आयोजनाहरुमा लगानी गरेको गरेको छ ।
प्रवद्र्धक कम्पनी दिव्यज्योति हाइड्रोपावरका अध्यक्ष सतिस न्यौपानेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरी सकिएकाले आयोजना तत्काल निर्माण सुरु गरी समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट २० लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया