२९ आश्विन २०८३, बिहिबार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा खसेर २ जना मजदुरको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–राजेन्द्र विश्वकर्मा

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।

बुधबार साँझ मलंगवा–१० निवासी रञ्जित यादवको चारतल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा उनीहरूको खसेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी करिब ४० वर्षीय राजकिशोर यादव गम्भीर घाइते भएका थिए । काम गरिरहेको क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।