२८ असार २०८३, आइतबार

स्मार्टको लिलामी रकमबाट ४ अर्ब बढी कर्जा चुक्ता गरिएको मेगा इन्भेष्टमेन्ट बैंकको प्रष्टोक्ति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। बैंकले विज्ञप्ति जारी गर्दै ऋणी कम्पनी स्मार्ट टेलिकम प्रा.लि को सम्पत्ति लिलाम बिक्री प्रक्रियासम्बन्धी विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको हो ।

स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण जडान गरिएका घर–जग्गा धनीलाई तिर्न बाँकी घरभाडा तथा विद्युत महसुलबारे पनि अनुसन्धान केन्द्रित रहेको बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार प्रचलित कानुन, विशेषगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र सुरक्षित कारोबार ऐनअनुसार निक्षेपकर्ताको रकम सुरक्षित राख्ने तथा कर्जा असुली गर्ने कानुनी दायित्वअन्तर्गत सम्पूर्ण प्रक्रिया अघि बढाइएको हो।

२०८२ असोज ३ गते स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्री लिलामीका लागि सूचना प्रकाशित गरिएको थियो। सोही प्रक्रियाबाट करिब ४ अर्ब ६० करोड रुपैयाँ संकलन भएको बैंकले जनाएको छ। त्यसमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण अन्तर्गतको कर्जा चुक्ता भुक्तान भई सम्बन्धित निकायबाट खाता रोक्का रहेको र बाँकी रहेको करिब ३८ करोड रुपैयाँ भने सम्बन्धित निकायबाट खाता रोक्का भएकाले बैंककै खातामा सुरक्षित राखिएको स्पष्ट पारेको हो । उक्त रकम घरभाडा, विद्युत महसुललगायत स्मार्ट टेलिकमले तिर्न बाँकी दायित्व भुक्तानीका लागि प्रयोग गरिने बैंकको भनाइ छ।

बैंकले अनुसन्धानका क्रममा आवश्यक कागजात तथा विवरण सम्बन्धित निकायलाई समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि पूर्ण सहयोग गर्ने स्पष्ट पारेको छ । साथै, अनुसन्धान प्रक्रियाका कारण बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने बैंकले प्रतिबद्वता व्यक्त गरेको छ ।

बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा नेपाल राष्ट्र बैंक बाट प्राप्त हुँदै आएको निरन्तर सहयोग, सद्भाव र विश्वासप्रति आभार समेत व्यक्त गरेको छ।