काठमाडौं । मानिसले आफ्नो जीवनको विशेष उपलब्धिमा प्रायः आमालाई सम्झिने गर्छन् । तर हिजो आइपीएलको यस सिजनमा चेन्नई सुपर किंग्सका युवा ब्याट्सम्यान उर्विल पटेलले भने आफ्नो ऐतिहासिक इनिङ्सपछि बाबुप्रति सम्मान प्रकट गर्दै भावुक क्षण सिर्जना गरे ।
चेन्नईको एम चिदम्बरम स्टेडियम चेपकमा भएको खेलमा लखनऊ सुपर जायन्ट्सले दिएको २०४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा उर्विलले विस्फोटक ब्याटिङ गर्दै केवल १३ बलमै अर्धशतक पूरा गरे । उनले यससँगै आईपीएल इतिहासकै सबैभन्दा छिटो अर्धशतकको संयुक्त रेकर्ड बराबरी गर्दै इतिहास पनि बनाए ।
तर उनको अर्धशतकभन्दा बढी चर्चा अहिले उनको भावुक उत्सवको भइरहेको छ । अर्धशतक पूरा गरेपछि उर्विलले आफ्नो खल्तीबाट एउटा सानो कागज निकाल्दै दर्शकलाई देखाएका थिए । त्यसमा लेखिएको थियो, ‘यो तपाईंका लागि हो, पापा’ बाबुप्रतिको प्रेम र सम्मान झल्किएको त्यो क्षण अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

उर्विलले २३ बलमा ६५ रनको आक्रामक इनिङ्स खेलेका थिए । उनले ८ छक्का र २ चौका प्रहार गर्दै चेन्नईको जितको आधार तयार पारे । चेन्नईले उक्त खेल ५ विकेटले आफ्नो पक्षमा पार्न सफल भयो ।
दायाँ हाते ब्याट्सम्यान तथा विकेटकिपर उर्विल भारतीय क्रिकेटका उदीयमान आक्रामक खेलाडीका रूपमा चिनिन्छन् ।
उर्विलले सैयद मुश्ताक अली ट्रफी २०२४ मा केवल २८ बलमा शतक प्रहार गरेर क्रिकेट जगतको ध्यान आफूतर्फ खिचेका थिए ।








प्रतिक्रिया