काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्ताव अस्वीकार गरेका छन् । उनले आफूलाई उक्त प्रस्ताव पटक्कै मन नपरेको टिप्पणी गरेका छन् ।
ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भनेका छन्, ‘मैले इरानी प्रतिनिधिहरूबाट आएको प्रतिक्रिया पढेँ । मलाई यो पटक्कै मन परेन । म यसलाई स्वीकार गर्न सक्दिनँ ।’
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार तेहरानले आइतबार पाकिस्तानमार्फत अमेरिकालाई आफ्नो नयाँ प्रस्ताव पठाएको थियो । प्रस्तावमा युद्ध अन्त्य गर्ने, फारसी खाडी र होर्मुज जलडमरूमा समुद्री सुरक्षा सुनिश्चित गर्ने, प्रतिबन्ध हटाउने र आणविक कार्यक्रममा वार्ता गर्न आह्वान गर्ने लगायत उल्लेख छ ।
अमेरिकाले यसै साता इरानलाई १४ बुँदे प्रस्ताव पनि पठाएको थियो । प्रस्तावमा इरानले कम्तिमा १२ वर्षको लागि युरेनियम सम्वर्द्धन रोक्नुपर्ने र आफूसँग भएको लगभग ४४० किलोग्रामको ६० प्रतिशत संवर्धित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने र बदलामा अमेरिकाले प्रतिबन्धहरू खुकुलो पार्ने, अरबौं डलरको इरानी सम्पत्ति फिर्ता गर्ने र इरानी बन्दरगाहहरूमा रहेको नौसेना नाकाबन्दी हटाउने उल्लेख थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, इरान आफ्नो आणविक कार्यक्रम र अत्यधिक समृद्ध युरेनियममा पूर्ण रूपमा सम्झौता गर्न इच्छुक छैन ।








प्रतिक्रिया