३१ जेष्ठ २०८३, आइतबार

१९ हजारका लागि बहिनीको कंकाल बोकेर बैंक पुगेका जितुलाई लाखौं सहयोग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नी बहिनीको कंकाल बोकेर १९ हजार भारतीय रुपैयाँ निकाल्न बैंक पुगेका ओडिशाका आदिवासी जितु मुण्डाको खातामा अहिले लाखौं रुपैयाँ जम्मा भएको छ । उनले आफ्नो काँधमा बहिनीको कंकाल बोकेर हिँडेको भिडियो सार्वजनिक भएपछि धेरैले उनलाई आर्थिक सहयोग गरेका हुन् ।

दियानाली गाउँका बासिन्दा जितुको खातामा करिब १५ लाख भारतीय रुपैयाँ जम्मा भएको हो ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, फिजिक्स वाल्लाहका संस्थापक अलख पाण्डेले जितुलाई १० लाख रुपैयाँ सहयोग गरेका छन् । आपका सांसद संजय सिंहले उनलाई ५० हजार रुपैयाँ दिएका छन् । राजस्थानका कृषिमन्त्री किरोडीलाल मीणाले जितुलाई एक महिनाको तलब १.४५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी, केओंझर जिल्ला प्रशासनले उनलाई जिल्ला रेडक्रस कोषबाट ३० हजार रुपैयाँ प्रदान गर्दा खिदमत फाउन्डेसनले ५० हजार रुपैयाँ प्रदान गरेको छ । जितुले अहिले धेरै सरकारी सुविधाहरू पनि प्राप्त गरेका छन् ।

ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले पहल गरेपछि जिल्ला प्रशासनले जितुको घरमा बिजुली जडान गरेको र उनलाई राज्यले मासिक सहयोग गर्ने सूचीमा पनि समावेश गरिएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफ्नी बहिनीको मृत्यु हुनुभन्दा अघि जितुले उनको खातामा करिब १९ हजार रुपैयाँ जम्मा गरेका थिए । उनको खाता ओडिशा ग्रामीण बैंकको स्थानीय शाखामा थियो ।

जितुले बहिनीको मृत्यु भएको र आर्थिक समस्याका कारण उक्त पैसा निकाल्न चाहेको जानकारी गराएका थिए । तर बैंकले मृत्यु भएको प्रमाण मागेको थियो । उनले धेरै प्रयास गर्दा समेत उक्त पैसा निकाल्न कुनै सहयोग पाएनन् र निराश भएर उनले चिहानबाटै कंकाल निकालेर बैंकको गेटसम्म पुर्‍याएका थिए । आफ्नी बहिनीको कंकाल काँधमा बोकेर जितुले करिब ३ किलोमिटर हिँडेर बैंक पुगेका थिए ।

उनको तस्वीर, भिडियोहरु सामाजिक सञ्जालमा चर्चामा आएपछि बैंकले ब्याजसहित १९ हजार ४०२ रुपैयाँ जितुलाई दिएको थियो ।