काठमाडौं । समुदायलाई अर्थपूर्ण सहयोग गर्ने उद्देश्यले एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडअन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको एक सरकारी विद्यालयलाई पूर्ण रूपमा सुसज्जित विज्ञान प्रयोगशाला तथा विद्यार्थीहरूका लागि लन्च बक्स प्रदान गरेको छ । उक्त सहयोग कमलपोखरीस्थित कमल आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी गरिएको हो ।
विद्यालय परिसरमै सम्पन्न भएको कार्यक्रममा एभरेष्ट हस्पिटालिटी एण्ड होटलका सञ्चालकले व्यक्तिगत रूपमा विद्यालय प्रशासनलाई विज्ञान प्रयोगशाला हस्तान्तरण गरे । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा काठमाडौं मेरियट होटलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
होटलकाका अनुसार विज्ञान प्रयोगशालाको उपलब्धता विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदम हो । आवश्यक विज्ञान सामग्रीहरूसहितको प्रयोगशालाले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा बाहिर निस्केर प्रयोगात्मक सिकाइमा सहभागी हुने अवसर दिन्छ, जसले जिज्ञासा वृद्धि गर्दै वरपरको संसारप्रति गहिरो बुझाइ विकास गर्न सहयोग पुर्याउँछ । साथै, विद्यार्थीहरूको समग्र हितलाई ध्यानमा राख्दै लन्च बक्सहरू पनि वितरण गरिएको होटलले जनाएको छ ।
कार्यक्रममा बोल्दै काठमाडौं मेरियट होटेलका अध्यक्ष शशी कान्त अग्रवालले समुदायलाई योगदान गर्नु होटलको मूल मान्यताहरूमध्ये एक भएको उल्लेख गरे । उनका अनुसार शिक्षा कुनै पनि समृद्ध समाजको आधार हो, र प्रत्येक बालबालिकाले सिक्न र अघि बढ्न आवश्यक साधनहरू पाउनु अत्यावश्यक छ । उक्त पहल त्यसतर्फको सानो र इमानदार प्रयास भएको उनले बताए ।
कमल आधारभूत विद्यालयले कमलपोखरी आसपासका क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ, र यस सहयोगबाट आगामी वर्षहरूमा अझै धेरै विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
काठमाडौं मेरियट होटलले आफूले सेवा प्रदान गर्ने समुदायको उत्थानका लागि जिम्मेवार र अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता दोहोर्याएको छ ।








प्रतिक्रिया