काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठ लाई पराजित गर्दै विजयी भएका हुन् ।
मंगलबार सम्पन्न निर्वाचनमा कुल १,८३४ मत खसेकोमा प्रवलजंगले १,०७९ मत (५८.८३ प्रतिशत) प्राप्त गरे भने ज्योत्सनाले ७५० मत पाइन्। प्रवलजंगलाई महासंघका वर्तमान अध्यक्ष अन्जन श्रेष्ठ समूहको समर्थन रहेको थियो।
महासंघको केन्द्रीय कार्यकारिणी समितिमा तीन कार्यकाल काम गरिसकेका प्रवलजंग लोमस समूहसँग आबद्ध छन्। औषधि, सिमेन्ट, बैंकिङ र बीमा क्षेत्रमा लगानी तथा व्यवस्थापनमा सक्रिय उनी हाल सिटिजन्स बैंक इन्टरनेसनल का अध्यक्षसमेत हुन्।
वरिष्ठ उद्योगी प्रदीपजंग पाण्डेका छोरा प्रवलजंग करिब एक दशकदेखि महासंघको आन्तरिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।इन्जिनियरिङ पृष्ठभूमिका उनी आफ्नो करियरको सुरुआत नेपाल टेलिकम बाट गरेका थिए। त्यसपछि निजी क्षेत्रमा प्रवेश गर्दै विभिन्न उद्योग र वित्तीय क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेका हुन्।
प्रदीपजंग पाण्डे स्वयं महासंघका पूर्वअध्यक्ष हुन्। उनी २०७० सालमा भएको ४८औँ साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका थिए। तर कार्यकालका क्रममा उत्पन्न विवादका कारण उनी पदबाट बाहिरिनुपरेको थियो। पछि २०७२ सालमा तत्कालीन राष्ट्रपति रामवरण यादव बाट आममाफी पाएपछि उनी सार्वजनिक रूपमा सक्रिय राजनीतिमा फर्किएका थिएनन्।
प्रवलजंगको जितसँगै महासंघमा अनुभवी व्यावसायिक पृष्ठभूमि र नयाँ पुस्ताको नेतृत्वबीचको समन्वय थप बलियो बन्ने अपेक्षा गरिएको छ। निजी क्षेत्र लगानी र आर्थिक गतिविधिमा चुनौती झेलिरहेको वर्तमान अवस्थामा महासंघको भूमिका अझ प्रभावकारी बन्नुपर्ने आवश्यकता पनि यससँगै जोडिएको छ।
निर्वाचनपछि प्रवलजंगले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै बुवासँगको तस्बिर सार्वजनिक गरेका छन्। उनले बुवाले नेतृत्व सम्हालेको क्षण र आफू उपाध्यक्ष बनेको वर्तमान क्षणलाई जीवनका महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन्।









प्रतिक्रिया