काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पदबाट राजीनामा नदिने बताएकी छन् ।
पश्चिम बंगालमा आफू नेतृत्वको तृणमूल कांग्रेस (टीएमसी)को लज्जास्पद हारपछि मंगलबार कोलकातामा पत्रकार सम्मेलन गर्दै उनले षड्यन्त्र गरेर हराइएको टिप्पणी गरिन् ।
‘हामी जनादेशका कारणले होइन, षड्यन्त्रका कारण हार्यौँ,’ उनले भनिन्, ‘त्यसैले, म राजभवनमा राजीनामा दिन जाँदिन ।’
उनले चुनाव आयोग नै वास्तविक खलनायक भएको आरोप लगाइन् । ‘उनीहरूले १०० सिट चोर्न भाजपासँग मिलेर काम गरे ।’ उनले भनिन्, ‘अब मसँग कुनै कुर्सी छैन, म स्वतन्त्र चरा हुँ । म जहाँबाट पनि चुनाव लड्न सक्छु । म सडकमा बस्नेछु ।’
मुख्यमन्त्री बनर्जीले भाजपाले मतगणना केन्द्रहरू कब्जा गरेको र आफूलाई दुर्व्यवहार समेत गरेको बताइन् । साथै, उनले उम्मेदवार र कार्यकर्ताहरूलाई यातना दिएको आरोप लगाइन् ।
उनले भनिन्, ‘पार्टी र अखिल भारतीय गठबन्धनका नेताहरू मसँगै छन् । हामी फेरि उठ्नेछौँ र सिंह जस्तै लड्नेछौँ ।’
पश्चिम बंगाल राज्यको विधानसभा चुनावको नतिजा सोमबार घोषणा गरिएको थियो । बंगालमा भाजपाले २९३ सिटमध्ये २०७ सिट जितेको छ ।
ममता नेतृत्वको टीएमसीले ८० सिट मात्र जितेको छ ।








प्रतिक्रिया